रौतहट । रौतहटका उखु किसानहरूले लामो समयदेखि पर्खिरहेको अनुदान रकम एक हप्ताभित्र भुक्तानी गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार बसेको भुक्तानी समितिको विशेष बैठकले किसानहरूको अनुदान रकम शीघ्र निकासा गर्ने निर्णय गरेको हो।
“उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५” बमोजिम गठित भुक्तानी समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवको अध्यक्षतामा सो बैठक बसेको थियो।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको नेतृत्वमा गएको किसान बुझबुझारथ टोली र जिल्लाका प्रशासनिक निकायबीच भएको सघन छलफलपछि यो सकारात्मक निर्णय सम्भव भएको हो। किसान हकहितको पक्षमा भएको यस निर्णयका लागि उखु उत्पादक संघले संघर्षमा होमिएका सम्पूर्ण उखु किसानहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गरेको छ।
जिल्लाका सम्बन्धित स्थानीय तह र चिनी मिलहरूले आगामी ७ (सात) दिनभित्र कार्यविधिको तोकिएको अनुसूची अनुसार उखु किसानहरूको आधिकारिक विवरण र आवश्यक कागजात भुक्तानी समितिमा अनिवार्य पेश गर्नुपर्नेछ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग अनुदान बापतको आवश्यक रकम उपलब्ध गराउन तत्काल औपचारिक अनुरोध गर्ने र मन्त्रालयबाट रकम प्राप्त हुनासाथ कागजात रुजु गरी नियमानुसार तुरुन्त भुक्तानी प्रक्रिया सम्पन्न गरिनेछ।
उखु कृषकहरूको विवरण संकलन र प्रमाणीकरण गर्ने कार्यलाई तीव्र बनाउन जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखाका कर्मचारीहरूलाई सक्रिय सहयोग एवं समन्वयका लागि आग्रह गरिएको छ। यो निर्णयसँगै रौतहटमा भुक्तानीको पर्खाइमा रहेका हजारौँ उखु किसानहरूले ठूलो राहत पाउने विश्वास लिइएको छ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेश सगर भुसाल,प्रहरी उपरीक्षक सिताराम रिजाल, उप-अनुसन्धान निर्देशक कुमार बुढाथोकी, भुक्तानी समिति तथा प्रमुख कोष नियन्त्रक मान देव ठाकुर, कृषि ज्ञान केन्द्र प्रमुख सुरेन्द्र प्रसाद कुर्मी,कोष नियन्त्रक धर्मेन्द्र कुमार यादव,उखु उत्पादक संघका अध्यक्ष अशोक यादवलगायतको विशेष उपस्थिति रहेको थियो।


