जीतपुरमा युवाबीच कुटाकुट, तीन जना प्रहरी नियन्त्रणमा

रञ्जन यादव
101 पाठक संख्या

जीतपुर । सामान्य विषयमा सुरु भएको विवाद उग्र बन्दा बाराको जीतपुरमा दुई समूहका युवाबीच कुटाकुट भएको छ। जीतपुरस्थित टेडा रोडमा साइकल पसलअगाडि भएको झडपमा पसल सञ्चालक पक्षका दुई जना घाइते भएका छन् भने प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

घटना मंगलबार साइकल पसलनजिकै एक युवकले पिसाब गर्न खोजेपछि सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। पसल सञ्चालक ओमप्रकाश सराफले पसल वरपर पिसाब नगर्न आग्रह गरेपछि युवकसँग भनाभन भएको र विवादले केहीबेरमै हात हालाहालको रूप लिएको बताइएको छ।

विवादकै क्रममा ती युवकको समूह घटनास्थलमा आएपछि पसल सञ्चालक पक्षसँग झडप भएको प्रत्यक्षदर्शीको भनाइ छ। समूहबीच कुटाकुट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। केही समयको प्रयासपछि प्रहरीले दुवै पक्षलाई छुट्याएर अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

घटनापछि प्रहरीले युवकको पक्षबाट तीन जनालाई पक्राउ गरेको छ। झडपमा पसल सञ्चालक पक्षका दुई जना घाइते भएको र उनीहरूको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको टाउको, ओठलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। घटनाको कारण, संलग्न व्यक्तिको भूमिकालगायत विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a review