रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

रञ्जन यादव
39 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गरिएको आँखा परीक्षणमा २४ जना विद्यार्थीमा आँखासम्बन्धी समस्या देखिएको छ। विद्यालयमै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय विद्यार्थीको आँखाको परीक्षण गरिएको हो।

रोटरी क्लब अफ वीरगन्जको सहकार्य र किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। परीक्षणका क्रममा समस्या पहिचान भएका विद्यार्थीलाई तत्काल आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको शिविरका चिकित्सक डा. अमर केयालले जानकारी दिए।

आँखाको अवस्थाअनुसार केही विद्यार्थीलाई थप उपचार तथा नियमित परीक्षणका लागि चिकित्सकीय परामर्श दिइएको छ। विद्यालय उमेरमै आँखासम्बन्धी समस्या पहिचान गर्न सके उपचार सहज हुने भएकाले विद्यार्थी केन्द्रित शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

बालबालिकाको दृष्टिसम्बन्धी समस्या समयमै पत्ता लगाउने उद्देश्यले विद्यालय तथा समुदायमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको किरण आँखा अस्पतालले जनाएको छ। अस्पतालले जीतपुरसिमरा–सिमरामा सूर्य नेपालअगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको भुइँतलामा आँखा उपचारसम्बन्धी क्लिनिक सञ्चालन गरिरहेको छ।

Leave a review