गरिमा चौधरीको पसाहामा अन्त्येष्टि

साझेदारी डेलि
89 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ।

बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोला घाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

शनिबार राति गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच तीनबुँदे सहमति भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका थिए। त्यसपछि शवलाई पसाहा खोलामा लगेर अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिमा गरिमाका परिवार तथा आफन्तसहित बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाही र कानुनी सुधारको माग गर्दै परिवारले विगत केही दिनदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो।

शनिबार राति गृह मन्त्रालयमा गृहमन्त्रीसहित पाँच मन्त्री तथा सांसदहरूको उपस्थितिमा भएको वार्तामा कानुन पुनरावलोकनका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेलगायत विषयमा लिखित सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो।

Leave a review