अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई सकारात्मक अभिभावकत्व तालिम

रञ्जन यादव
41 पाठक संख्या

सिमरा । बौद्धिक तथा अन्य प्रकारका अपाङ्गता भएका बालबालिकाको हेरचाह, संरक्षण र पारिवारिक वातावरण सुधार गर्ने उद्देश्यले बारामा अभिभावक तथा हेरचाहकर्ताका लागि तीनदिने सकारात्मक अभिभावकीय तालिम सम्पन्न भएको छ। बौद्धिक अपाङ्ग अभिभावक संघ बाराको आयोजनामा सिमरास्थित नेपाल अपाङ्ग सेवा संघ बाराको सभाहलमा भदौ १९ देखि २१ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

तालिममा अपाङ्गता भएका बालबालिकाको आवश्यकता पहिचान, उचित हेरचाह, व्यवहार व्यवस्थापन, संरक्षण तथा उनीहरूको क्षमता र अधिकारलाई सम्मान गर्ने विषयमा अभिभावक तथा हेरचाहकर्तालाई जानकारी दिइएको आयोजकले जनाएको छ।

बालबालिकासँग सकारात्मक सम्बन्ध विकास गर्ने, उनीहरूको व्यवहार र आवश्यकतालाई बुझेर सहयोग गर्ने तथा दैनिक जीवनमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्ने उपायबारे पनि प्रशिक्षण दिइएको थियो। घरपरिवारमै अपाङ्गता भएका बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्न अभिभावकको भूमिकामाथि समेत प्रशिक्षण केन्द्रित रहेको थियो।

तालिमसँगै १८ वर्षमुनिका बालबालिकामा रहेको अपाङ्गताको अवस्था पहिचान गर्ने कार्यसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य तथा अपाङ्ग बाल अस्पताल र सम्बन्धित निकायको सहयोगमा पहिचानसम्बन्धी गतिविधि सञ्चालन गरिएको हो।

कार्यक्रममार्फत अभिभावकमा अपाङ्गता भएका बालबालिकाप्रति सकारात्मक सोच र व्यवहार विकास गराउँदै उनीहरूको अधिकार तथा क्षमताको सम्मान गर्ने पारिवारिक संस्कार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ।

Leave a review