१६ पालिकामध्ये परवानीपुर गाउँपालिकाको स्वास्थ्य कार्यक्रम जिल्लामै उत्कृष्ट

रञ्जन यादव
62 पाठक संख्या

परवानीपुर । बाराका स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा परवानीपुर गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाराले गरेको मूल्यांकनमा परवानीपुरले ७४ दशमलव ३२ अंक प्राप्त गर्दै १६ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो।

कलैयास्थित होटल कारण राज पार्टी प्यालेसमा आयोजित जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सार्वजनिक गरिएको नतिजाअनुसार महागढीमाई नगरपालिका ७३ दशमलव १४ अंकसहित दोस्रो र करैयामाई गाउँपालिका ७३ दशमलव १२ अंकसहित तेस्रो भएका छन्।

स्वास्थ्य कार्यक्रमको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच र गुणस्तर, लक्षित समुदायसम्म सेवाको पहुँच तथा स्वास्थ्य संस्थाको कार्यसम्पादनलाई मूल्यांकनको आधार बनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले जानकारी दिनुभयो। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका स्वास्थ्य सूचक र मापदण्डसमेत मूल्यांकनमा समेटिएको उहाँले बताउनुभयो।

यसैगरी स्वास्थ्य चौकीतर्फ निजगढ नगरपालिका–११ स्थित रतनपुर स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट घोषित भएको छ। निजगढ स्वास्थ्य चौकी दोस्रो र करैयामाई स्वास्थ्य चौकी तेस्रो भएका छन्। उत्कृष्ट घोषित स्थानीय तह तथा स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य कार्यालयले सम्मान गरेको छ।

वार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले स्वास्थ्य क्षेत्रको उपलब्धि मूल्यांकन गर्दा अंक र तथ्यांकसँगै नागरिकले पाएको सेवाको पहुँच तथा गुणस्तरलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच समन्वय बलियो भए स्वास्थ्य सेवाको प्रभावकारिता बढ्ने उहाँको भनाइ थियो।

समीक्षामा गत आर्थिक वर्षमा जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी वर्ष सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, स्वास्थ्य मन्त्रालयका डा. मुक्तिनारायण साह, स्वास्थ्य निर्देशनालय सपही धनुषाकी निमित्त निर्देशक सुनिता गुप्तालगायत स्वास्थ्यकर्मी तथा स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो।

जिल्ला स्वास्थ्य कार्यालयले समीक्षाबाट प्राप्त सुझाव र पहिचान भएका कमजोरीलाई आगामी स्वास्थ्य कार्यक्रम सुधार तथा प्रभावकारी कार्यान्वयनमा प्रयोग गरिने जनाएको छ।

Leave a review