संघीय समाजवादीको २१ सदस्यीय बारा जिल्ला समिति गठन

रञ्जन यादव
58 पाठक संख्या

कलैया । नेपाल संघीय समाजवादी पार्टीले बारामा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ। कलैयामा बसेको जिल्ला समितिको बैठकले नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गर्दै आगामी मंसिर २० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, कोषाध्यक्षमा नसारुद्दिन देवान र सचिवमा बौवा लाल ठाकुर चयन भएका छन्। बैठकले तीन महिनाभित्र जिल्लाका नगरपालिका, गाउँपालिका, निर्वाचन क्षेत्र तथा स्थानीय तहमा संगठन विस्तार गर्ने कार्ययोजना बनाएको छ।

पार्टीले साधारण तथा सक्रिय सदस्यता वितरणलाई तीव्रता दिने र संगठनका गतिविधि सञ्चालनका लागि कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको छ। अधिवेशनलाई संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारको अवसरका रूपमा अघि बढाउने जनाइएको छ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले राजनीतिक उपलब्धि र जनअधिकारको संरक्षणका लागि सशक्त संगठन आवश्यक रहेको बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानता र समावेशिताका विषयलाई प्राथमिकतामा राखेर पार्टी गतिविधि अघि बढाउने धारणा राख्नुभयो।

अन्सारीले संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउँदै जनताका समस्या र अधिकारका सवालसँग प्रत्यक्ष जोडिन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो। बैठकमा मधेश प्रदेशका पूर्व गृह, कानून तथा सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य विमला अन्सारी, केन्द्रीय सदस्य नासिर शेख, मुफ्ती मुइनुद्दिन र जिल्ला इन्चार्ज कलामुद्दिन हवारी लगायतको सहभागिता थियो।

Leave a review