जीतपुरमा हाजिरीजवाफ प्रतियोगिता : एमरल्ड प्रथम, एभरग्रीन दोस्रो

साझेदारी डेलि
37 पाठक संख्या

जीतपुर । विद्यार्थीको ज्ञान, तर्कशक्ति र तत्काल जवाफ दिने क्षमताको प्रतिस्पर्धामा जीतपुरको एमरल्ड एकेडेमी उत्कृष्ट बनेको छ। होलिराज इङ्गलिस स्कुलको आयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सहभागी आठ विद्यालयलाई पछि पार्दै एमरल्डले प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा एभरग्रीन स्कुल जीतपुर दोस्रो र जेपीईसी तेस्रो भएका छन्। अमरेला एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक विद्यालयका प्रधानाध्यापक सुधीरकुमार दासले जानकारी दिए।

विद्यार्थीमा पाठ्यपुस्तकको ज्ञानसँगै तार्किक क्षमता, स्मरणशक्ति र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। एनप्याब्सनको सहकार्यमा सञ्चालित प्रतियोगितामा क्षेत्रका आठ संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा जेपीईसी, सहिद स्मारक, एमरल्ड एकेडेमी, केयर भिजन, ज्ञान निकेतन, अमरेला एकेडेमी, परवानीपुरको हेरिटेज र जीतपुरको एभरग्रीन स्कुलका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रासहित तीन विद्यार्थीको टोली सहभागी गराइएको थियो।

प्रतिस्पर्धालाई रोचक बनाउन पाँचवटा चरणमा प्रश्नोत्तर सञ्चालन गरिएको थियो। जनरल, अडियो, भिजुअल, ग्याम्बलिङ र र्‍यापिड फायर राउन्डमार्फत विद्यार्थीको विषयगत ज्ञान, श्रवण क्षमता, दृश्य पहिचान, निर्णय क्षमता र तत्काल जवाफ दिने सीप परीक्षण गरिएको थियो।

प्रतियोगितापछि आयोजित पुरस्कार वितरण समारोहमा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। होलिराज इङ्गलिस स्कुलका प्रधानाध्यापक दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन आयोजक विद्यालयका शिक्षक प्रितम गुप्ताले गरेका थिए।

Leave a review