एमाले जीतपुरसिमराद्वारा शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान

रञ्जन यादव
42 पाठक संख्या

सिमरा । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले नेपालीका प्रमुख चाडपर्वको अवसर पारेर आईतबार सिमरामा शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ।

विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित कार्यक्रममा विभिन्न तहका पार्टी नेताहरूले चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता र भाइचाराको सम्बन्धलाई थप बलियो बनाउने धारणा व्यक्त गरे।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्यहरू ज्वाला शाह, कृष्णकुमार श्रेष्ठ (किसान), सीता सुवेदी, प्रदेश कमिटी सचिव मनोज पौडेल, पूर्वकेन्द्रीय सदस्य सरस्वती चौधरी, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्वप्रदेशसभा सदस्य सुन्दर विक, जिल्ला सचिव अमृत शर्मा बजगाईं तथा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो। जीतपुरसिमरा उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयतर्फ एसईईमा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी तथा कक्षा १२ मा प्रथम हुने विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रविन्द्र खकुरेलले गरेका थिए। कमिटीका उपाध्यक्ष कय्युमुदिन अन्सारीले स्वागत मन्तव्य राखेका थिए।

Leave a review