बारामा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ

साझेदारी डेलि
113 पाठक संख्या

बारा । बारामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति जितपुरसिमरा उपमहानगरपालिका–१८ कटाटोलस्थित स्थानीय गोरीमाया तामाङको बाख्राको गोठमा जुवातास खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त स्थानमा पुगेर जुवा खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ निवासी उमाशंकर साहका ३१ वर्षीय छोरा उपेन्द्रप्रसाद साह, तोरप लामाका ६१ वर्षीय छोरा मिनबहादुर थिङ, जयबहादुर थिङका ३६ वर्षीय छोरा कुमार थिङ, मनोज चौधरीका ३७ वर्षीय छोरा जिम्बु चौधरी, सहिला थिङका ४९ वर्षीय छोरा सितलाल तामाङ र विपिलाल तामाङका ३० वर्षीय छोरा वाङ तामाङ रहेका छन्।

त्यसैगरी कलैया उपमहानगरपालिका–२१ निवासी तुलसी चौधरीका ५५ वर्षीय छोरा देवचन्द्रप्रसाद चौधरी र चनरदेव साहका ३१ वर्षीय छोरा रमेश साह पनि पक्राउ परेका छन्।

पक्राउ परेका आठै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

Leave a review