रात्रिकालीन व्यवसायको समय बढाउन वीरगञ्जका व्यवसायीको तयारी

साझेदारी डेलि
76 पाठक संख्या

वीरगञ्ज । रात्रीकालीन व्यावसायिक गतिविधिलाई थप विस्तार गर्ने उद्देश्यसहित वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालनको समय बढाउन माग गर्ने तयारी गरेका छन्।

विराटनगरमा सुरक्षा तथा अन्य मापदण्ड पूरा गरी राति २ बजेसम्म होटल, रेस्टुरेन्टलगायतका व्यवसाय सञ्चालन गर्न सकिने व्यवस्था भएपछि वीरगञ्जका व्यवसायीले पनि समान सुविधा उपलब्ध गराउन प्रशासनसँग पहल गर्ने भएका हुन्।

भारतसँग सीमा जोडिएका दुवै सहरको व्यापारिक तथा आर्थिक गतिविधिमा होटल, रेस्टुरेन्ट र मनोरञ्जन क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि व्यवसाय सञ्चालनको समयसीमामा फरक व्यवस्था रहेको भन्दै वीरगञ्जका व्यवसायीले चासो देखाएका छन्।

वीरगञ्जका एक होटल सञ्चालकका अनुसार व्यवसाय सञ्चालनको समय राति २ बजेसम्म पुर्‍याउने विषयमा जिल्ला प्रशासन कार्यालय पर्सासँग छलफल गर्ने तयारी भइरहेको छ। व्यवसायीहरूले यस विषयमा प्रशासनसमक्ष औपचारिक माग राख्ने तयारी गरेका छन्।

व्यवसायीका अनुसार रातिको समयमा समेत व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने व्यवस्था भए होटल तथा रेस्टुरेन्टको कारोबार बढ्नुका साथै रोजगारीका अवसर सिर्जना हुने र सहरको आर्थिक गतिविधि चलायमान बन्ने अपेक्षा गरिएको छ। यसले वीरगञ्जको पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सहयोग पुग्न सक्ने उनीहरूको भनाइ छ।

तर, समयसीमा विस्तार गर्दा सुरक्षा संवेदनशीलता, ध्वनि प्रदूषण नियन्त्रण र सार्वजनिक मर्यादालाई प्राथमिकतामा राख्नुपर्ने व्यवसायीहरू स्वीकार गर्छन्। त्यसका लागि व्यवसायको प्रकृति र स्थानीय अवस्थाअनुसार स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्ने उनीहरूको सुझाव छ।

विराटनगरमा २१ वटा सर्तसहित राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई उदाहरणका रूपमा लिँदै वीरगञ्जका व्यवसायीले पनि स्थानीय सुरक्षा अवस्था र आवश्यक मापदण्डका आधारमा यस्तै सुविधा दिन प्रशासनसँग आग्रह गर्ने तयारी गरेका हुन्।

व्यवसाय सञ्चालनको समयसीमा बढाउने विषयले व्यवसायीको आर्थिक हितसँगै रोजगारी, पर्यटन प्रवद्र्धन र समग्र सहरी अर्थतन्त्रलाई समेत प्रभाव पार्ने भएकाले यसमा प्रशासन र निजी क्षेत्रबीच छलफल आवश्यक देखिएको छ।

वीरगञ्जका व्यवसायीको प्रस्तावप्रति जिल्ला प्रशासन कार्यालय पर्साले कस्तो निर्णय लिन्छ भन्ने विषय भने आगामी छलफल र प्रशासनिक पहलपछि मात्रै स्पष्ट हुनेछ।

Leave a review