रौतहट प्रहरीको अडियो प्रकरण : मधेश प्रदेश प्रहरी कार्यालयले संलग्न कर्मचारीलाई झिकायो, छानबिन समिति गठन

साझेदारी डेलि
191 पाठक संख्या

बारा । रौतहटमा प्रहरी कर्मचारीबीच भएको अपशब्द प्रयोग गरिएको अडियो संवाद सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीलाई कार्यालयमा झिकाएर छानबिन प्रक्रिया अघि बढाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र सोही जिल्लास्थित डुमरिया सुरक्षा वेशमा कार्यरत प्रहरी कर्मचारीबीच भएको अडियो संवादमा प्रयोग भएको भाषा, शब्द तथा शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त अडियो प्रकरणमा जोडिएका प्रहरी कर्मचारीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा झिकाइएको विज्ञप्तिमा उल्लेख छ । घटनाको सत्यतथ्य पत्ता लगाउन कार्यालयले छानबिन समिति समेत गठन गरेको जनाएको छ ।

छानबिनबाट दोषी ठहरिने प्रहरी कर्मचारीमाथि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाइएको प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a review