कलैया-२७ मा चौथो वडा अध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा अमाव विजयी

साझेदारी डेलि
55 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका-२७ बरवामा चौथो वडा अध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। बरवा खेल मैदानमा बिहीबार आयोजित उद्घाटन खेलमा अमावको टोली विजयी भएको छ।
उद्घाटन खेलमा अमावले सानो बभनीको टोलीलाई १ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

ब्रह्मबाबा युवा क्लब बरवाको आयोजनामा तथा कलैया उपमहानगरपालिका वडा नं. २७ को सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष प्रदुमन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बारा निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ उपस्थित थिए।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उप-विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष अदयानन्द पाण्डे, कलैया उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश मण्डल, वडा नं. २७ का अध्यक्ष अशोक कुमार तिवारी, वडा सदस्यहरू नरेश कुशवाहा, रामआशीष सहनी, श्याम चौधरी, बद्री चौधरी र भोला सहनीलगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो १ बजे बन्ठाकाट्टी र हरैया एफसीबीच खेल हुने आयोजक क्लबका अध्यक्ष प्रदुमन चौधरीले जानकारी दिएका छन्।

Leave a review