बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलो १७० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एउटा गाडी बरामद गरेको छ। प्रहरीलाई देखेपछि गाडी नरोक्दै तीव्र गतिमा भागेका चालकले केही पर गाडी छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको बा.१७ च.२६३६ नम्बरको गाडीलाई पथलैया चेकपोस्ट नजिक शंकास्पद अवस्थामा देखेपछि रोक्न खोजेको थियो।
तर, चालकले गाडी नरोक्दै तीव्र गतिमा भगाएपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडीलाई पछ्याएको थियो। प्रहरी टोलीले पछ्याउने क्रममा चालकले दुधौरा खोलाको पुल छेउमा गाडी छाडेर जंगलतर्फ भागेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
उनका अनुसार त्यसपछि प्रहरीले गाडीको चेकजाँच गर्दा डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो। उक्त पदार्थ तौल गर्दा २३७ किलो १७० ग्राम रहेको पाइएको छ।
प्रहरीले उक्त गाँजा र गाडीलाइ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजीसमेत भइरहेको प्रवक्ता घलेले बताएका छन्।



