Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमराको बेथिती बिरुद्ध काँग्रेसको ध्यानाकर्षण, ज्ञापनपत्रमा कडा चेतावनी

रञ्जन यादब /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्न नेपाली काँगे्रससले माग गरेको छ ।
नेपाली काग्रेस नगर कार्यसमितिले बजेट सार्वजनिक गर्न माग गरेको हो । नेपाली काँग्रेस नगर सभापति श्यामवावु गुप्ताको नेतृत्वको टोलीले मेयर डा.कृष्ण पौडेललाई उनकै कार्यकक्षमै पुगेर शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

उपमहानगरपालिकाले गरेको हालसम्म भएका विकासका गतिविधिहरु समेत सन्तोषजनक नभएको भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको नगर सचिव सुशिल ढोडारीले बताएका छन । काँग्रेसले आफ्नो ध्यानकर्षण पत्रमा गत आवको खर्च विवरण पारदर्शी ढंगबाट हुनुपर्ने, कोरोना अस्थाई अस्पतालको खर्च पारदर्शी हुनुपर्ने, नगर भित्रका प्रदुषणलाई नियन्त्रण गर्न पहल कदमी लिनुपर्ने लगायतका माग राखेको छ ।

यसैगरी उक्त ध्यानकर्षणपत्रमा नगर भित्र भएका विकास निर्माणका कार्यहरु उपभोक्ता समिति खडा गरी संस्थागत भ्रष्टचार भईरहेको भन्दै उपभोक्ता समिति मार्फत हुने कार्य बन्द गर्न माग गरेको छ ।

विगतमा वडालाई छुट्याईएको बजेट हचुवाको भरमा वितरण गरिएको भन्दै आगामी दिनमा वैज्ञानिक आधारमा रही जनसंख्या र भूगोललाई आधारमा वितरण गर्न समेत नेपाली काँग्रेसले ध्यानाकर्षण गराएको छ । ध्यानकर्षणपत्र बुझ्दै नगर प्रमुख डा. पौडेलले ज्ञापन पत्रका भएका समसामयिक विषय प्रति नगरको ध्यानाकृष्ट भएको भन्दै सुझावका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्य गरेर काम गर्न आफु र नगर तयार रहेको बताउँनुभयो ।

ध्यानकर्षणपत्र बुझाएपछि नेपाली काँग्रेस नगरकार्यसमितिले सिमरामा पत्रकार सम्मेलन गरी आफुले उठाएका मागहरुका बारेमा पत्रकारलाई जानकारी गराएको छ । बाराका अधिकांस स्थानीय तहहरुले नगरसभा गरिसकेका छन् । तर जीतपुरसिमरा उपमहानगरपालिकामा बहुमत प्राप्त रहेको नगर प्रमुखले आपसी बिवादमा लागेर नगरसभा अहिलेसम्म गर्न नसक्नु लज्जासपद बिषय भएको ध्यानकर्षण भनिएको छ।
नेपाली काँग्रेसका निर्वाचित वडाअध्यक्षहरुले बारम्बार बैठकमा हिसाबकिताब पारदर्शाी गर्न माग गर्दा पनि कार्यपालिका बैठकमा पेस गर्न नसक्नु अनियमितताको पर्खाष्ठ भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले बताए । उहाँले नगरस्तरीय बजेटको ४० प्रतिशत बजेट भ्रष्टचार भएको आरोप लगाएका छन् । नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले ८ सुत्रीय मागसहितको ध्यानकर्षण नगर प्रमुख डा.कृष्ण पौडेललाई बुझाएका थिए । मागहरु पुरा नभए नेपाली काँग्रेस आन्दोलन गर्न पनि पछि नपर्ने बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा जम्मा ३४ जना सदस्यहरुमध्ये २७ जना नेकपाको ,पाँच जना नेपाली काग्रेसको र दुई जना राजपाको रहेका छन् । कार्यक्रममा पूर्वसंविधान सभा सदस्य शोभाकर पराजुली, जीतपुरसिमराका नगरप्रमुख र उपप्रमुखका प्रत्यासी उम्मेदवार कृष्णव्रत सिंह, नारायणी रायमाझी, काग्रेसबाट निर्वाचित वडाध्याक्ष, वडा सभापति पार्टीका भातृसंगठन, शुभेच्छुक संघ संघठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।