भारतीय पर्यटक भित्र्याउन मधेसको पर्यटन ‘शोकेस’ : मधेस ट्राभल मार्ट आजदेखि सुरु

रञ्जन यादव
42 पाठक संख्या

सिमरा । मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई भारतीय पर्यटन बजारसँग जोड्ने उद्देश्यसहित ‘मधेस ट्राभल मार्ट’ आज (शुक्रबार) देखि सुरु हुँदैछ। नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने चारदिने कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गरेको हो।

कार्यक्रमबारे जानकारी दिन बिहीबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले मधेसका आठवटै जिल्लाका पर्यटकीय स्थल, संस्कृति, धार्मिक सम्पदा तथा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको बताए।

उनका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर तथा पर्यटक कार्यक्रममा सहभागी भएका छन्। भारतका पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरबाट आएका पर्यटन व्यवसायीलाई मधेसका पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइनेछ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेसको पर्यटन क्षेत्रको सम्भावना उजागर गर्न ट्राभल मार्ट महत्वपूर्ण अवसर भएको बताए। अमलेखगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई यस कार्यक्रमले थप बल पुग्ने उनको भनाइ थियो।

कार्यतालिका अनुसार शुक्रबार वीरगञ्जस्थित होटल सरोवरमा ट्राभल मार्टको औपचारिक उद्घाटन हुनेछ। त्यसअघि सहभागीलाई महागढीमाई मन्दिर दर्शन गराइनेछ। उद्घाटनपछि सिमरास्थित होटल क्लासिक प्लाजामा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ।

दोस्रो दिन अमलेखगञ्जको सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइनेछ। त्यसपछि टोली बर्दिबास हुँदै जनकपुरधाम पुग्नेछ, जहाँ जानकी मन्दिर, मिथिला आर्ट ग्यालरी अवलोकन तथा गंगा आरतीमा सहभागिता गराइने कार्यक्रम छ। आयोजकका अनुसार ट्राभल मार्टले मधेसका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा टेवा पु-याउनुका साथै भारतीय पर्यटक आगमन बढाउने लक्ष्य लिएको छ।

Leave a review

This will close in 0 seconds