भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानहरु चिन्तित भएका छन् । उनीहरु पानी अभावमा धान धान रोप्न पाएका छैनन् ।
गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिँचाइका सूचना अधिकारी एवम् इन्जिनियर सुरेशप्रसाद साहले भारतीय पक्षले मर्मतको बहाना गरेर पानी नछाडेको बताउनुभयो । गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनु्पर्छ ।
अहिले भारतले जम्मा दुई सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो । गण्डक नहरको पानीले पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गामा सिँचाइ गर्ने योजना थियो तर हरेक वर्ष भारतले कुनै न कुनै बहाना गरेर पानी छाड्न आनाकानी गर्दै आएको छ ।
असारको पहिलो हप्ता नै रोपाइँ गर्नुपर्नेमा भारतले नहरमा पानी नछाडिदिँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ ।

