विभेदकारी नीति र उपेक्षाले मधेस पछि पर्‍यो : उपेन्द्र यादव

साझेदारी दैनिक
347 पाठक संख्या

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गको उपेक्षा र विभेदकारी नीतिले गर्दा मधेश शोषित र पछि परेको आरोप लगाएका छन् ।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको मधेश प्रदेश समितिले मंगलबार जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षणको उद्घाटन गर्दै यादवले यस्तो आरोप लगाएका हुन् ।

मधेशको शिक्षा,स्वास्थ्यभौतिकपूर्वाधार,रोजगार जस्ता क्षेत्रको विकास हुन नसकेको टिप्पणी उनले गरे ।

मधेशी जनताले विभेदकारी राज्यसत्ताको रवैया विरुद्ध गरेको जनविद्रोहकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए । राज्यको केन्द्रीकृत मानसिकता बोकेका शासकबर्गको मधेशप्रतिको हीन चरित्र अझै सुध्रिन नसकेको उनले टिप्पणाी गरे ।

‘समथल भूभाग,उर्बरभूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेशमा भए पनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण बिगतका गलत नीति,योजना र बिभेदकारी शासन प्रणाली नै हो उनले ठहर गरे ।

मुलुक संघिय शासन प्रणालीमा गएपनि उपेक्षित एवं शोषित सीमान्तकृत वर्गमाथिको विभेद अझै उन्मूलन हुन नसकेको उनको कथन थियो ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भैरहेको उनले जनाए । उत्पीडित जनता र समुदायमाथिको विभेद अन्त्य नभएसम्म मधेसले विकास निर्माणमा फड्को मार्न नसक्ने उनले बताए ।

समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

जसपा राजनीतिक समिति सदस्य एवं समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव,राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव,मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव,महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रशिक्षणमा मधेश प्रदेशका आठ वटै जिल्ला बाट करिब एक सय बढी महिला नेतृहरुको सहभागिता रहेको छ ।

Leave a review

This will close in 0 seconds