अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जना बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साह सहित २४ जना बिरुद्ध अख्तियारले अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गराएको अख्तियारका प्रबक्ता नरहरि घिमिरेले जानकारी दिए ।
डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीमा रहेको बेलामा तत्कालिन वन अधिकृत साहले भ्रष्टाचार गरेको आरोप लागेको हो ।रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रुख कटान गरि भ्रष्टाचार गरेको पुष्टि भएकोले उनी बिरुद्ध बिशेष अदालतमा मुदा दायर गरेको प्रबक्ता घिमिरेले बताए ।
अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर सव–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव,फरेष्टर सन्तोष कुमार साह,वनरक्षकहरु राज किशोर झा,अजय कुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतो विरुद्ध पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यस्तै नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन रामदरश राउत,मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ,बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल,रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउत,रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी,कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग,जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ज्ञ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम,रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री,जिल्ला सिन्धुली, सुनकोशी गाउँपालिका वडा नं. ४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली बिरुद्ध पनि भ्रष्टाचार मुद्दा अदालतमा दायर भएको छ ।

