नारायणी अस्पतालबाट एकै पटक ४७ जना कर्मचारीहरु हटाएको घटना पछि अस्पताल विकास समिति नारायणीले त्यस्को विरोध गरेको छ ।
चिकित्सक,स्टाफ नर्स,प्राबिधिक कर्मचारीसहित एकै पटक अस्पतालको सेवाबाट हटाएपछि अस्पताल विकास समितिले विरोध गरेको हो ।
अस्पतालका नवनियुक्त निमित्त मेसु डा.एनामुल हकले मंगलबार एक सूचना जारी गरी कर्मचारीहरुलाई सेवाबाट हटाएका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष सदस्य सहितले बुधबार प्रेस विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएका हुन् । समिति सित कुनै समन्वय नै नगरी कर्मचारीहरु हटाएकोे विज्ञप्ति मार्फत समितिले जानकारी दिएको छ ।
निमित्त मेसु हकले कर्मचारीहरुको मिलेमतोमा पूर्वाग्रह राखि स्वेच्छाचारी मनोमानी तरिकाले अस्पतालका कर्मचारीहरुको सेवा अवधि समाप्त गरिएको विज्ञप्तिमा लेखिएको छ ।
गरिब,असहाय तथा न्यून आर्थिक अवस्था भएको बिरामीहरुको केन्द्रका रूपमा रहेको अस्पतालमा कर्मचारीहरुलाई सेवाबाट हटाईए पश्चात थपिएको सेवा बन्द भई सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएमा त्यसको जिम्मेवारी निमित्त मेसु नै हुने विकास समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।
नारायणी अस्पतालले दरबन्दि बेगर अस्पतालमा कार्यरत रहेका ४७ जना कर्मचारीहरुलाई सेवाबाट हटाएको छ । जसमध्ये दस जना डाक्टरहरु रहेका छन । अस्पतालमा डा.हकलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो ।

