लागू औषध गाँजा सहित दुई जना प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
322 पाठक संख्या

बारा प्रहरीले अवैध लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्हरी उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यस बारे जानकारी दिएका हुन् ।

लागू औषध गाँजा १ सय २२ किलो वरामद गरी कार,मोटरसाइकल र मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजमा एक कारलाई जाँच गर्दा गाँजा बरामद भएको हो ।

मनहरीबाट पथलैया तर्फ आउदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागी रोकी चेक जाँच गर्दा कारको पछाडीको डिक्कीमा लुकाई छिपाई राखेको ८० किलो लागु औषध गाँजा बरामद भएको हो ।

कार सहित व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार चालक चितवनको राप्‍ती नगरपालिका – १० रिकाटार बस्ने अं. वर्ष २५को मानबहादुर वाईवालाई नियन्त्रणमा लिएको हो ।

कारमा सवार मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने अन्दाजी २६ वर्षीय सुमन स्याङताङलाई समेत प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरिया, बारा बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.१ हनुमान चोक स्थित चेक जाँच गर्ने क्रममा नयकाटोला बाट भारत तर्फ जादै गरेको बिआर शून्य पाँच सी ७०५४ नम्बरको भारतीय हिरोहुण्डा मोटरसाइकल प्रहरीलाई देखि फाली फरार भएका थिए ।

उक्त मोटरसाइकल शंकास्पद लागी जाँच गर्दा सिट मुनी रातो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको १० किलो लागु औषध गाँजा वरामद गरी मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रहरी चौकी पथलैया बारा बाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित हेटौडा बाट पथलैया तर्फ आउदै गरेको प्र.०३–००२प ५८५४ नम्बरको मोटरसाइकल प्रहरीलाई देखि फाली फरार भएकोमा उक्त मोटरसाइकल पछाडी बाँधी राखेको झोला जाँच गर्दा ३२ किलो लागू औषध गाँजा वरामद गरी मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review