बारा प्रहरीले दुई लाख ६२ हजार बराबरको अवैध सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अवैध भन्सार छलीका अन्दाजी मूल्य रू दुई लाख ६२ हजार चार सय १० रूपैयाँ बराबरको सामानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले शुक्रबार जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ८ स्थित सडक खण्डमा भन्सार छलि गरी बि.आर ०५ डि ३४२३ मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको काजु, सबुर दाना र ट्याङ्क जुस बरामद गरेको छ ।
उक्त सामानको अन्दाजी मुल्य रु एक लाख ५२ हजार रुपैयाँ बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया स्थित भन्सार छलि गरी ल्याउदै गरेको जेन्स बेल्ट,महिला पर्स,पुरूष पर्स अन्य कास्मेटिकस सामानहरू गरी अन्दाजी मूल्य रू.३१ हजार सात सय ७० रूपैयाँ बराबरको सामान बरामद गरेको हो ।
त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थित महोत्तरीबाट काठमाण्डौँतर्फ जादै गरेको बा.प्र.०३–००१ ख २९७१ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा अन्दाजी मूल्य ७८ हजार छ सय ४० रूपैयाँ बराबरको दुई बोरा टिसर्ट कपडा बरामद गरेको छ ।
उक्त सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

