कलैया,१६ भदौ । नजिकिदै गरेको तीज पर्वको अवसर पारेर महिला बैंककर्मीहरू बीच तीन दिने खेलकुद प्रतियोगिता वीरगञ्जमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समितिले भाद्र १३,१४ र १५ गतेसम्म सो प्रतियोगिता गरेको हो । प्रतियोगितामा विभिन्न बैंकका महिला कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको हो ।
यसले महिलाको मानसिक,शारीरिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको विश्वास युनियनका अध्यक्ष रमेश सर्राफले व्यक्त गरे ।
सांस्कृतिक महत्व बोकेको पर्वलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक कर्मचारी युनियनले महिलाहरूका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरी यसलाई थप अर्थपूर्ण बनाएको युनियनका अध्यक्ष सर्राफले बताए ।
महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्न र खेलकुदका माध्यमबाट उनीहरूको सामाजिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनियनले प्रतियोगिताको आयोजना गरेको हो ।
खेलकुदले शारीरिक फिटनेस मात्र नभई आपसी सम्बन्ध सुदृढीकरण,मानसिक तनावको निवारण र सकारात्मक सोचको विकासमा पनि योगदान पु-याउने विश्वास नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक यज्ञ श्रेष्ठले व्यक्त गरेका छन् ।
सिद्धार्थ बैंकको तर्फबाट अनामिका श्रीवास्तव,धना आले मगर र कृतिका खतिवडाले पतिस्पर्धामा भाग लिएका थिए ।
तृतिय हुने प्रभु बैंकको तर्फबाट अर्चना गुप्ता,मन्जुला नापिट र सुमित्र कुमारी सिंह रहेका छन् । यस्तै स्लो स्कुटर रेस एक अनौठो र चुनौतीपूर्ण खेल बैंककर्मीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्यो ।
१७ वटा टोलीले सहभागिता जनाएको प्रतियोगितामा भाग लिएका महिला खेलाडीहरूले सन्तुलन र धैर्य प्रदर्शन गरेका हुन् । सिद्धार्थ बैंक लिमिटेडकी स्मिता शाहले प्रथम स्थान हाँसिल गरेकी छन् । प्रभु बैंक लिमिटेडबाट बर्षा शाही द्वितीय भइन् । माछापुच्छ्र्रे बैंककी सरस्वती पौडेल तृतीय भएकी छिन् ।
त्यस्तै १६ वटा टिमको सहभागिता रहेको ब्याडमिन्टन पतियोगितामा नेपाल एसबीआई बैंक लिमिटेडकी रिया झा र लेनिशा खनालले प्रथम स्थान हासिल गरेकी छन् । प्रभु बैंक लिमिटेडबाट शिवानी जोशी द्वितीय,माछापुच्छ्रे बैंककी सरस्वती पौडेल तृतीय भएकी छिन् ।
यो प्रतियोगिता केवल खेलकुदमा सीमित मात्रै नभएर यसले महिला बैंककर्मीहरूको सशक्तिकरण र उनीहरूबीचको सम्बन्धलाई थप बलियो बनाउने कार्यमा सघाउ पुगेको उनको विश्वास छ । तीन वटै प्रतियोगिताका विजेता एवम उपविजेताहरुलाई शिल्ड र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको छ ।
यस प्रतियोगिताबाट मनोबल उच्च भएको र कार्यक्षेत्रमा थप ऊर्जा र आत्मविश्वासका साथ फर्कन सहयोग मिलेको खेलमा सहभागी महिला कर्मचारीहरूको प्रतिक्रिया छ ।


