विन्दवासीनी सहकारी सिमराको आठौं वार्षिक साधारण सभा भयो सम्पन्न

साझेदारी दैनिक
276 पाठक संख्या

सिमरा: बाराको सिमरास्थित रहेको विन्दवासीनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक सिमराका शाखा प्रमुख चन्द्रमणी भट्टराईको प्रमुख आतिथ्यतामा शुक्रबार सो सभा सम्पन्न भएको हो। सहकारीका अध्यक्ष नारायण क्षेत्रीको अध्यक्षतामा सो सभा भएको हो।

साधारण सभाले अध्यक्ष क्षेत्रीको संस्थागत तथा कोषाध्यक्ष गोविन्दबहादुर अधिकारीको आर्थिक प्रतिवेदन,लेखा परीक्षण प्रतिवेदन र मुख्य प्रवन्धक रघुनाथ लामिछानेको तीन वर्षे कार्य योजना सुझाव सहित पारित गरेको छ।

साधारण सभाले सहकारीको सञ्चालक समितिमा रिक्त सदस्यमा सुष्मा गजुरेल र लेखा समिति सदस्यमा अमजद हुसेनलाई निर्वाचित गरेको छ ।

यसअघि सहकारीमा सञ्चालक सदस्य रहेकी सरस्वती भट्टराईको स्वास्थ्य अवस्थाका कारण राजिनामा दिएकी थिइन्। लेखा समिति सदस्य गजुरेललाई सञ्चालक समितिमा निर्वाचित गरिएको हो।

यस्तै लेखा समितिमा गजुरेलको स्थान रिक्त भएपछि जीतपुरसिमरा २३ का शेयर सदस्य हुसेनलाई लेखा समिति सदस्यमा निर्वाचित गरिएको सहकारीले जनाएको छ।

साधारण सभामा बायो ग्याँस प्रवद्र्धन केन्द्रका महबुब सिद्धीकी, जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको हो।

साधारण सभाका अवसरमा सहकारीले उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा जीतपुरसिमरा १२ फतेपुरकी सरस्वती चौधरीलाई सम्मान गरेको छ।

आफ्नो सेवा क्षेत्र भित्रका १२ उत्कृष्ट बचतकर्ताहरुलाई उसले सम्मान गरेको छ। बारा जिल्ला भर सेवा क्षेत्र रहेको सहकारीले हाल जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरामा मुख्य कार्यालय तथा जीतपुरसिमरा १५ डुमरवानामा सेवा केन्द्र कार्यालय स्थापना गरी यस संस्थाले सेवा प्रवाह गरिरहेको छ।

संस्थाले हाल करिब १७ सय शेयर सदस्य रहेका छन्। संस्थाले पाँच करोडको कारोबार गरिरहेको संस्थाका मुख्य प्रवन्धक रघुनाथ लामिछानेले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review