सिमरा : रक्त अभाव हुन नदिन बाराको सिमरामा मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा बजारमा आयोजित सो रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाको आयोजना तथा सूर्य नेपाल प्रा.लि. सिमराको सौजन्यमा भएको हो । सो अवसरमा ८ महिला सहित एक सय १२ जनाले रक्तदान गरेको छन ।
कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी,सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गण हे.क्वा. पिलुवाका गणपती सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर बस्नेत,होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खड्गी लगायतको उपस्थिती रहेको कार्यक्रमका सहजकर्ता एवं सूर्य नेपाल प्रा.लि.का कर्मचारी बेनी प्रसाद तिमल्सिनाले जानकारी दिए ।
पछिल्लो समय देशमा विनाशकारी बाढी पहिरोपछि काठमाडौं उपत्यकामा रगतको अभाव देखिएकोले केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा रगत पुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाका सभापति शिवकुमार शर्माले बताए ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गण हे.क्वा. पिलुवा,रक्तसञ्चार केन्द्र वीरगञ्ज र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गरेको थियो ।
दशैं लगतै पूनः सिमरामा जगदम्बा स्टिलसंगको सहकार्यमा रक्तदान कार्यक्रम राखिने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिएका छन ।

