रौतहट :ओम प्रकाश यादव / स्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँ सहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।
सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले जाँच गरेको हो। जाँचको क्रममा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको डिएसपी रायले बताए ।
चौधरीले बोकेको झोलामा फेला परेका उक्त रुपैयाको कुनै स्रोत नखुलेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकोे छ।
बरामद भएका उक्त रुपैयाँ र मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

