रौतहट: ओम प्रकाश यादव/ हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैंगिक हिंसा अन्त्य गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि बारा,पर्सा र रौतहट जिल्लामा पनि सुरु भएको छ।
देशव्यापी रूपमा १६ दिनसम्म मनाइने यो अभियान अन्तरगत विभिन्न कार्यक्रम गरी मनाईदै छ । अयिान अन्तरगत प्रभात फेरी,अन्तरक्रिया,-याली,अन्तरक्रिया गरिदै आएको हो ।
यसैवीच बारा,पर्सा र रौतहटका विभिन्न पालिकाहरुमा समेते यो अभियान संचालन हुने भएको छ । अभियानकै क्रममा रौतहटको गरुडामा सोमबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ गतेसम्म मनाइने जनाईएको छ।
अभियानको पहिलो दिन इलाका प्रहरी कार्यालय गरुडा सहितका नेपाल प्रहरी,सशस्त्र प्रहरी,नागरिक समाज,महिला अधिकारकर्मी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका व्यक्तिले हात हातमा प्ले कार्ड लिएर प्रभातफेरी गरेका थिए।
सहभागीहरुले घरबाटै शुरू गरौं,लैंगिक हिंसा अन्त्य गरौं,लैंगिक हिंसा नगरी सम्मान व्यवहार गरौं,बालविवाह अन्त्य गरौं,जस्ता लेखिएको प्ले कार्ड बोकेर उनीहरूले गरुडा बजार परिक्रमा गरेका हुन्।
गरुडा बजार परिक्रमा गरेपछि सो -याली इलाका प्रहरी कार्यालय गरुडा अगाडि गएर कोणसभामा परिणत भएको थियो।
गरुडा नगरपालिका,इस्लामिक रिलिफ नेपाल,इस्लामिक रिलिफ क्यानडा,आरडीसी नेपाल,जिल्ला प्रहरी कार्यालय रौतहट मातहत रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा र लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति रौतहटले संयुक्त रूपमा सो प्रभात फेरीको आयोजना गरेको हो।
कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाको न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको जनाए। उनले अझै महिला हिंसामा कमी आउन नसकेको बताएका थिए।
राज्यले लैंगिक हिंसा अन्त्य गर्नका लागि बनाइएको कानुन प्रभावकारी रूपमा कार्यान्वन नहुँदा लैंगिक हिंसा बढ्दै गएको उनले बताए। लैंगिक हिंसा नियन्त्रणका लागि सरकारले बनाएको कानुन कडाइका साथ लागू गर्ने तर्फ लाग्नुपर्ने धारणा उनले राखेका थिए।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि राजन कार्कीले सबैले मिलेर लैंगिक हिंसा अन्त्य गर्ने तर्फ लाग्नुपर्ने बताए।
लैंगिक हिंसाका कारण गाउँ समाजमा विभिन्न घट्ना बढेको भन्दै उनले लैंगिक हिंसा नियन्त्रणका लागि आ–आफ्ना स्तरबाट सबैलाई लाग्नुपर्ने जनाए।
अशिक्षा,गरिवी,बेरोजगारी,चेतनाको कमी आदिले गर्दा महिला,बालबालिका माथि अनेक किसिमको हिंसा भइरहेको कार्कीले उल्लेख गरे। उनले हिंसा अन्त्यका लागि प्रहरीले गर्ने कानुनी कारवाहीमा समेत सबैलाई सहयोग गर्नुपर्ने बताए ।
प्रहरीले यस्ता घट्ना हुन् नदिन प्रभावकारी ढंगले कानुनी कारवाही गरिरहेको बताएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख दीपिका ओझाले देशव्यापी रूपमा सुरू भएको लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानले लैंगिक हिंसा अन्त्य गर्न ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
१६ दिने अभियानका क्रममा लैंगिक हिंसा अन्त्य गर्नका लागि जिल्लाका विभिन्न ठाउँमा मंगलबार देखि महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, सरोकारवाला पक्षहरूसँग बृहत् भेला,गोष्ठीलगायत कार्यक्रम सञचालन गरिने महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी कार्यालय प्रमुख ओझाले बताइन्।
यस्ता कार्यक्रमले बलात्कार,घरेलु हिंसा,यौन उत्पीडन,एसिड आक्रमण,प्रजननमा जबर्जस्ती,महिला शिशु हत्या,भ्रूण हत्या,प्रसूति हिंसा,दाइजोका कारण हुने हिंसा,अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह,बालविवाह,बहुविवाह,कुटपीट,मानसिक यातना लगाएतका घटनामा कमी ल्याउन ठूलो टेवा पु-याउने उनले विश्वास व्यक्त गरिन्।
कार्यक्रम सहभागी महिला अधिकारकर्मी किरण ठाकुरले समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् भनिन् । उनले महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको बताइन् ।
महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्ने जनाइन्। विधुवा प्रथा,घुम्टोप्रथा,बाल तथा अनमेल विवाह प्रथाको अन्त्य गरिनुपर्ने उनले बताइन् ।
त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण,दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकिने उनको भनाइ थियो।
गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको प्रमुख आतिथ्य तथा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि राजन कार्कीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक इन्सपेक्टर ओम प्रकाश यादव,इन्सपेक्टर विनोद श्रेष्ठ,लगाएतका प्रहरी कर्मचारी,महिला अधिकारकर्मी,समाजका अगुवा,सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी कार्यालय प्रमुख दीपिका ओझाले जानकारी दिइन्।


