कलैया: अङ्ग्रेजी नयाँ वर्ष २०२५ को संगै बुधबार तराईमा धोती दिवस र पहाडमा टोपी दिवस मनाईएको छ ।
मधेसको सांस्कृतिक पहिचान झल्किने परम्परागत पहिरनको संरक्षण र प्रवद्र्धन गर्न धोती तराईमा दिवस मनाइएको बताईएको छ । यसैगरी राष्ट्रिय पोसाकका रूपमा रहेको टोपी दिवसका अवसरमा पनि देशभर विभिन्न कार्यक्रम गरिएको छ ।
टोपीलाई राष्ट्रिय पोसाकको रुपमा राखिएको भन्दै केही बर्षदेखी तराई मधेसमा धोती र कुर्तालाई पनि राष्ट्रिय पोसाकको रुपमा स्थापित गर्न दोती दिवस मनाउन थालिएको हो ।
जनमत पार्टी बाराको आयोजनामा कलैयाको मुख्य केन्द्र घण्टाघर चोकमा सम्पन्न कार्यक्रममा सहभागीहरूले धोती र कुर्ता पहिरिएर मधेसी समुदायको सांस्कृतिक धरोहरलाई उजागर गरेका थिए ।
पर्साको वीरगञ्मा पनि धोती दिवस मनाइएको छ । घण्टाघरमा आयोजित कार्यक्रममा कार्यक्रममा सहभागीहरूले धोतीसहित अन्य परम्परागत पहिरनहरूलाई पनि राष्ट्रिय मान्यता दिनुपर्ने माग पनि राखेका छन ।
कार्यक्रममा बोल्दै जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले धोती दिवसको उद्देश्य नेपालका विविध समुदायका परम्परागत पोसाकलाई सम्मान गर्दै बहु सांस्कृतिक राष्ट्रको पहिचान बलियो बनाउने बताएका छन । उनले “धोती हाम्रो पहिचान मात्र होइन,यो हाम्रो सांस्कृति हो । धोतीलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउन धोती दिवस मनाएका हौँ,” सर्राफले भने ।

