डुमरवानाको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सार्वजनिक सुनुवाइ

साझेदारी डेलि
47 पाठक संख्या

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सार्वजनिक सुनवाई गरेको छ। उस्ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइ शुक्रबार गरेको हो।

सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०८२/८३ मा कुल ४ लाख ६४ हजार ४ सय १२ रुपैयाँ आम्दानी भएको जानकारी दिइएको छ। तीन लाख ८१ हजार ५४ रुपैयाँ खर्च भएको जानकारी दिइएको हो। केन्द्रको कुल आम्दानीमध्ये खर्च कटाएर ८३ हजार ३ सय ५८ रुपैयाँ बाँकी रहेको छ।केन्द्रले सार्वजनिक गरेको स्वास्थ्य सेवा विवरण अनुसार नवजात शिशु तथा मातृ मृत्यु दर शून्य रहेको छ।

केन्द्रबाट एक वर्षको अवधिमा ओपीडी सेवामार्फत ३ हजार ९ सय ६६ जनाले स्वास्थ्य सेवा लिएका छन्। गत वर्षको तुलनामा केन्द्रमा प्रसूति सेवा लिने महिलाको सङ्ख्यामा कमी आएको छ। तर पनि विभिन्न वडाबाट सेवाग्राही आउने क्रम रहेको प्रतिवेदनमा उल्लेख छ।

वडा नम्बर १५ बाट १२ जना, वडा नम्बर १४ बाट ७ जना, वडा नम्बर १२ बाट ५ जना र वडा नम्बर १३ बाट ४ जनाले केन्द्रबाट प्रसूति सेवा लिएको जानकारी सो सुनवाईमा दिइएको छ। वडा नम्बर १६, १७, १८ र ११ लगायतका वडाबाट समेत प्रसूति सेवा लिने सेवाग्राही रहेको केन्द्रले जनाएको छ। केन्द्रमा हाल १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन्।

केन्द्रबाट नियमित स्वास्थ्य सेवासँगै आयुर्वेद शाखामार्फत समेत सेवा प्रदान हुँदै आएको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको छ। स्थानीय सर्वसाधारणले केन्द्रबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाका विषयमा जिज्ञासा तथा सुझाव उक्त अवसरमा राखेका थिए। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर स्वास्थ्य प्रमुख रवि भास्करको विशेष उपस्थिति रहेको हो।

उक्त कार्यक्रममा केन्द्रका चिकित्सक, नर्स, सिनियर अहेब, अनमी तथा अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। केन्द्रले आफ्नो वार्षिक आम्दानी–खर्च, स्वास्थ्य सेवा प्रवाह तथा आगामी दिनमा सेवा सुधारका विषयमा स्थानीय नागरिकलाई सो सुनवाई मार्फत जानकारी गराएको छ।

Leave a review