बालक चौधरीको न्यायको माग गर्दै जीतपुरमा प्रदर्शन,सीआईबी अनुसन्धान हुनुपर्ने पिडित परिवारको माग

रञ्जन यादव
274 पाठक संख्या

जीतपुर : जीतपुरका मतृक बालक अंश चौधरीको न्यायको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार प्रदर्शन गरेका छन्।

बाराको बीरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुरमा प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर दोषीलाई कारबाही गर्न माग गरेका थिए । गत माघ १७ गतेदेखि हराइरहेका ३ बर्षिय बालक अंश चौधरीको शव १० दिनपछि खोलामा डुबेको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार अंशको मृत्यु खोलामा डुबेर भएको बताएको थियो । तर, परिवारका सदस्य तथा आफन्तजनले प्रहरीको दाबी अस्वीकार गर्दै अंशको हत्या गरिएको आरोप लगाएका छन्।

उनीहरूको भनाइ अनुसार, १० दिन हराएका बालकको शव कुहिनुपर्ने भए पनि शव ताजा अवस्थामा फेला परेको छ, जसले हत्या भएको आशंका बढाएको छ । बालकले लगाएको डाईपर उसको शरीरमा फेला नपर्नु र लगाईएको हुडि अर्को ठाउँमा फेला पर्नुले घट्नालाई झन शंकास्पद बनाएको परिवारजनले बताएका छन् ।

मृतक बालकका बुवा रितेश चौधरीले घटनाको विस्तृत छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान माग गरेका छन्। प्रदर्शनका कारण केही समय अवरुद्ध भएको राजमार्ग प्रहरीको करिब ४५ मिनेटको प्रयासपछि सुचारु गरिएको छ ।

स्थानीयहरूले निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। अन्यथा कडा भन्दा कडा आन्दोलन गर्ने पिडितहरुले बताएका छन् ।

Leave a review