मौलाकालिका डेरीको सिमरामा नयाँ विक्री केन्द्र

रञ्जन यादव
326 पाठक संख्या

जीतपुर : बाराको डुमरबानामा रहेको मौलाकालिका डेरी प्रा.लि.ले सिमरामा नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

मौलाकालिका डेरी प्रा.लि.ले सहकार्य ब्राण्डको नामले बजारमा दुध,दही,घिउ,पनिर,पुष्टकारी लगायत दुग्धजन्य सामग्रीको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

सिमराको विकाशशील चोकमा शुरुवात भएको नयाँ विक्री केन्द्रबाट सिमरा बजार क्षेत्रका ग्राहकहरुलाई ताजा दुध तथा दुधजन्य उत्पादन पु¥याउने उद्देश्य राखिएको उद्योगका सञ्चालक दिपक कार्कीले जानकारी दिए ।

मौलाकालिका डेरी डुमरवानाका युवा व्यवसायीको टिमले सञ्चालनमा ल्याएको हो। जीतपुरसिमरा १५ का वडाध्यक्ष समेत रहेका रामप्रसाद लामिछाने,दिपक कार्की, सुर्य लामिछाने र दिपक रेग्मी लगायतका युवा सञ्चालक रहेको सो उद्योगले जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना,रामबन,उचिडी,कञ्चनपुर तथा कलैया उपमहानगरपालिकाको भोडाहा,दोहरी र सखुईमा संकलन केन्द्र राखेर किसानबाट दुध खरिद गर्ने गरेको छ ।

उद्योगको आवश्यक्ता अनुसार निजगढको बागदेव दुग्ध सहकारीबाट समेत दुध खरिद गर्ने गरिएको उद्योगका अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए । उद्योगले डुमरवाना र अमलेखगञ्जमा यसअघिनै विक्री केन्द्र स्थापना गरेको थियो भने तेश्रो विक्री केन्द्रका रुपमा सोमबार सिमरामा सेवा शुरु गरेको हो ।

सोमबार विहान विक्री केन्द्रको शुभारम्भ गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले युवा उद्यमीले उपमहानगरमा शुरु गरेको उद्यम प्रवद्र्धनमा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मौलाकालिका डेरी उद्योग तथा विक्री केन्द्रको सफलताको शुभकामना दिएका थिए ।

सिमरा विक्री केन्द्रको शुरुवात तथा होली पर्वको उपलक्ष्यमा उद्योगले आफ्नो प्रत्येक उत्पादनमा १० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ । मौलाकालिकाले अगामी दिनमा कलैया र बिरगंजमा आफनो बिक्रि केन्द्र खोल्ने सोच राखेको छ अध्यक्ष लामिछानेले बताए ।

Leave a review

This will close in 0 seconds