न्याय दिनु पर्ने माग गर्दै शवसहित प्रदर्शन

साझेदारी दैनिक
400 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन निवासी १६ बर्षिय किशोरी गुञ्जा चौरसियालाई न्याय दिनुपर्ने माग गर्दै बाराको कलैयामा मंगलबार शवसहित प्रदर्शन गरिएको छ।

मृतक किशोरीको आफन्त तथा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका नेता तथा कार्यकर्ताहरुले कलैयाको भरत चोकमा शव सहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले चर्काे नाराबादी गर्दे चोकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शन पश्चात आयोजित कोणसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी बाराका चन्दन सरार्फले मृतक बालिकालाई न्याय दिन माग गरे। उनले बालिकालाई मानसिक यातना दिनेलाई कारवाही गर्न समेत माग गरेका थिए। मृतक बालिकाको शव सोमबार सांझ आफनै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

गएको फागुन १५ गते मृतकको बुवा रामदिन चौरसिया र रामानन्द यादव बीच जग्गा जमिनको बिषयलाई लिएर झै झगडा भएको थियो।सोही झगडालाई लिएर बिपक्षी यादवले चौरसिया बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा कुटपिट मुद्दा दर्ता गराएका थिए।

यादवले जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गराएपछि चौरसिया फरार भएका थिए। चौरसिया फरार भएपछि उनका तीन बाल बच्चाहरु मात्र घरमा बस्दै आएका थिए। चौरसियालाई पक्राउ गर्नका लागि प्रहरी संगै वडा अध्यक्ष गेनालाल राउत अहिर उनको घरमा पुगेको थिए।

दिनमा तीन चार पटक प्रहरी र वडा अध्यक्ष घरमै पुगेर मानसिक यातना दिएको स्थानीयबासीले आरोप लगाएका छन्।प्रहरी र वडा अध्यक्षले पटक पटक मानसिक यातना दिएपछि सहन नसकेर किशोरीले आत्महत्या गरेको स्थानीयले दावी गरेका छन ।

मृतक बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई)का परिक्षार्थी हुन ।उनले अग्रेजी,नेपाली र गणितको परीक्षा दिई सकेकी छिन्। उक्त घटना बारे अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds