जीतपुर : बाराका जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बिहीबार प्रदेश सरकारका मुख्यमन्त्रीको एउटा पत्र लेखेका छन ।
पत्रमा नगरप्रमुख पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई योजनामा विचौलीया हावी भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री सिंहलाई अनुरोध पत्र लेखेर प्रमुख पौडेलले मधेश प्रदेश सरकार तथा मातहतका कार्यालयबाट अनाधिकृत रुपमा योजनाहरुको उपभोक्ता समिति गठन गर्नका लागि विभिन्न व्यक्तिहरुले पत्र बोकेर उपमहानगरमा आइरहेको पत्रमा उल्लेख छ ।
उपमहानगरसंग सहकार्य नगरी,उपमहानगरको इमेलमा समेत पत्राचार नगरी केही अमुक व्यक्तिहरुलाई विचौलीया बनाई पठाईएको पत्रका कारण प्रदेश सरकारको नियत र विश्वसनीयतामाथी प्रश्न उठेको नगर प्रमुखले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रको बोधार्थ दिंदै नगर प्रमुख पौडेलले उपमहानगरका सबै वडा कार्यालयहरुलाई समेत उपमहानगरपालिकासंग समन्वय नगरी आएका योजनाहरुको उपभोक्ता समिति गठन नगर्न निर्देशन दिएका छन् ।
संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक पार्टीको संसदीय दलको कार्यालय तथा जिल्ला समन्वय समिति बारा र जिल्ला प्रशासन कार्यालय बारालाई पनि उक्त पत्रको बोधार्थ पठाईएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले १५ लाख भन्दा माथिका सबै योजनाहरु विद्युतीय बोलपत्र आह्वान गरी सुशासन प्रवद्र्धनमा काम गरिरहेकाले प्रदेश सरकारले उपमहानगरभित्र उपमहानगरसंग सहकार्य नगरी योजना संचालनका लागि उपभोक्ता समिति गठन गर्न विचौलीया पठाउँदा जीतपुरसिमरा उपमहानगरको सुशासनमा समेत धक्का पुग्ने नगर प्रमुख पौडेलले मुख्यमन्त्रीलाई जानकारी गराएका हुन ।
प्रदेश सरकारले विचौलीया मार्फत १० प्रतिशत कमिसनमा काम गराईरहेका समाचारहरु विभिन्न मिडियामा आइरहेका बेला प्रदेश सरकार तथा मातहतका कार्यालयहरुबाट उपभोक्ता समिति गठनका लागि उपमहानगरमा पत्र बोकी आउने,फोन गर्ने,विभिन्न स्थानमा भेट्न खोज्ने,बार्गेनीङ गर्ने जस्ता कार्य भइरहेकाले प्रदेश सरकारको काम कारवाही प्रति प्रश्न चिन्ह खडा भएको नगर प्रमुख पौडेलले लेखेको पत्रमा उल्लेख छ ।

