गुंजा चौरसिया आत्महत्या प्रकरणमा निष्पक्ष छानविन र न्याय सुनिश्चित गर्न माग

साझेदारी दैनिक
728 पाठक संख्या

कलैया : गुञ्जा चौरसिया आत्महत्या प्रकरणमा निष्पक्ष छानवीन र न्याय सुनिश्चित गर्न माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई माग गर्दै सोमबार यस्तो माग गरिएको हो।

यस ज्ञापनपत्र दिनेमा नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दनकुमार स्वर्णकार,यस्तै विक्रम प्रसाद यादव,राजेश्वर प्रसाद चौरसिया,विश्वनाथ प्रसाद चौरसिया,शैलेन्द्र प्रसाद चौरसिया,आशा राउत बरै,मृतकको दिदी चन्दा चौरसिया,शैलेन्द्र प्रसाद चौरसिया लगायतकाले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा महागढिमाई नगरपालिकाका जिम्मेवार नागरिक तथा समाजसेवीहरु,तपाई समक्ष हाम्रो गम्भीर चासो र माग प्रस्तुत गर्न चाहन्छौं भनेर ज्ञापनपत्रमा लेखिएको छ।

महागढिमाई नगरपालिका वार्ड नं.६ निवासी गुंजा चौरसिया,जो कक्षा १० मा अध्ययनरत थिइन्,विगत केही समयदेखि प्रहरीको निरन्तर सोधपुछ,मानसिक दबाब र परिवारसँग सम्बन्धित मुद्दा तथा सामाजिक दबाबका कारण आत्महत्या गर्न बाध्य भएको ज्ञापनपत्रमा दावी गरिएको छ। उक्त घटना अत्यन्तै दुखद,पीडादायक र समाजकै लागि कलंकपूर्ण रहेको छ।

हामीले अनौपचारिक रुपमा स्थलगत अध्ययन पश्चातको विवरण बमोजिम,गुंजा चौरसियाको परिवार छिमेकी झगडाका कारण घर छोड्न बाध्य भएको कारण गुंजा चौरसियालाई प्रहरीले बारम्बार घरमा गएर सोधपुछ गर्ने,डर त्रास दिने जस्ता व्यवहार गरिएको पाईएको छ।

त्यसमाथि,स्थानीय जनप्रतिनिधि र केही प्रभावशाली व्यक्तिहरुबाट धम्की दिइएको विवरणहरू समेत सार्वजनिक भइरहेका छन्।

यस्तो अवस्थामा एसईईको परीक्षा समेत दिरहेकी तथा मानसिक रुपमा असाध्यै पीडामा रहेकी गुंजाले आत्महत्या गर्नु परेको छ। तर घटनापछि पनि सम्वन्धित प्रशासन तथा प्रहरी निकायबाट अपेक्षित छानबिन र न्यायिक प्रक्रिया अगाडि बढाइएको नदेखिएको ज्ञापनपत्रमा लेखिएको छ।

अझ गुंजा चौरसियाको बुवालाई नै अन्य मुद्धामा पक्राउ गरिएको खबरले हामी स्थानीय अत्यन्त आक्रोशित र चिन्तित भएको ज्ञापनपत्रमा लेखिएको छ। ज्ञापनपत्रमा गुंजा चौरसियाको आत्महत्याको घटनामा निष्पक्ष र छिटो छानबिन गर्न माग गरिएको छ।

गुंजालाई मानसिक दवाव दिने प्रहरी र जनप्रतिनिधिको भूमिकाको गम्भीर अनुसन्धान गर्न माग सो ज्ञापनपत्रमा गरिएको छ। दोषी व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरियोस्।
पीडित परिवारलाई सुरक्षा र न्याय सुनिश्चित गर्न भनिएको छ।

नगरपालिका द्वारा न्याय प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न भनिएको छ। यो घटना केवल एक व्यक्तिको मृत्यु मात्र होइन,सम्पूर्ण न्याय प्रणालीमाथिको प्रश्न हो। यदि यस्ता घटनाहरुमा प्रशासन मौन रहन्छ भने नागरिकको विश्वास समाप्त हुनेछ भनेर ज्ञापनपत्रमा भनिएको छ। सकारात्मक ध्यानाकर्षणको अपेक्षा गरिएको छ।

गएको फागुन १५ गते मृतकको बुवा रामदिन चौरसिया र रामानन्द यादव बीच जग्गा जमिनको बिषयलाई लिएर झै झगडा भएको थियो।सोही झगडालाई लिएर बिपक्षी यादवले चौरसिया बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा कुटपिट मुद्दा दर्ता गराएका थिए।

यादवले जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गराएपछि चौरसिया फरार भएका थिए। चौरसिया फरार भएपछि उनका तीन बाल बच्चाहरु मात्र घरमा बस्दै आएका थिए। चौरसियालाई पक्राउ गर्नका लागि प्रहरी संगै वडा अध्यक्ष गेनालाल राउत अहिर उनको घरमा पुगेको थिए।

दिनमा तीन चार पटक प्रहरी र वडा अध्यक्ष घरमै पुगेर मानसिक यातना दिएको चन्दा चौरसियाले आरोप लगाएकी छन्।प्रहरी र वडा अध्यक्षले पटक पटक मानसिक यातना दिएपछि सहन नसकेर किशोरीले आत्महत्या गरेको चौरसियाले दावी गरेकी हुन्।

मृतक गुन्जा चौरसियाले चैत ११ गते आफ्नै घरमा आत्महत्या गरेकी थिइन् । मृतक बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई)का परिक्षार्थी रहेकी थिइन् । उनले अग्रेजी,नेपाली र गणितको परीक्षा दिई सकेकी थिइन् ।

मृतकका बुवा चौरसियालाई वैशाख ५ गते शुक्रबार बारा प्रहरीले पक्राउ गरेको छ । उनलाई बारा जिल्ला अदालतबाट कुटपिट मुद्दामा ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

Leave a review