विद्यालयमा सम्मानपूर्वक शिक्षक फर्काइदिन बारागढीको विशेष अनुरोध

संदिप प्रसाद यादव
479 पाठक संख्या

कलैया : बारागढी गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई सम्मानपूर्वक फर्काइ दिन नेपाल सरकारसंग माग गरेको छ।

गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले मंगलबार एक पत्र मार्फत विशेष अनुरोध गरेका छन्। यो अनुरोध उनले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै लेखेका हुन्।

अनुरोधपत्रमा शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा विगत लामो समयदेखि शिक्षक कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि भएको जानकारी प्राप्त भएको जनाइएको छ।

यति लामो समयसम्म शिक्षकहरु आन्दोलमा रहिरहँदा विद्यार्थी भर्ना अभियानको समय सकिसक्दा पनि विद्यार्थी भर्ना भई पाठ्यपुस्तक वितरण समेत हुन नसकेको उनले लेखेका हुन्।

जसको कारण विद्यार्थीहरुले पढ्नपाउने नैसर्गिक अधिकारको हनन् हुनुको साथै सिकाईमा समेत क्षति आउनसक्ने अवस्था रहेको उनले जनाएका हुन्।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले आन्दोलन शैलिमा केही परिवर्तन गरी विद्यालयमा विद्यार्थी भर्ना,पाठ्यपुस्तक वितरण तथा पठनपाठनको व्यवस्था मिलाइदिनुहुन सादर अनुरोध गरिएको छ।

शिक्षक कर्मचारीहरुको जायज एवम् संविधानसम्मत मागहरुको सम्बोधनको सुनिश्चितता गरी शिक्षक तथा कर्मचारीहरुलाई सम्मानपुर्वक विद्यालयमा उपस्थित गराईदिनहुन नेपाल सरकार समक्ष अनुरोध समेत गरिएको हो।

Leave a review