कोल्हवी : धीरेन्द्र पनुहर / बाराको बारागढी गाउँपालिका वडा न. ५ सिहासनी बैरियामा लाग्ने पञ्चवर्षीय गढिमाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
यो वर्ष मेलालाई भव्य बनाइने मेला समितिका अध्यक्ष तथा बारागढी ५ का वडा अध्यक्ष मनेजर चौधरीले जानकारी दिएकी छन्। यस वर्ष गढिमाईको मेला यहि बैशाख २१ गते देखि २५ गते सम्म पाँच दिन लाग्नेछ।
मेलाको उद्घाटनको दिन आइतबार पटनाको म्युजिकल ग्रुपको साथै नेपालको चर्चित भोजपुरी गायक बिशाल यादवको प्रस्तुति रहने छ। बैशाख २२ गते लालीगुराँस ग्रुप झापाको टिकटक स्टार रिशिका चौधरीको प्रस्तुति रहने छ। बैशाख २३ गते कंकालीमाई म्युजिकल ग्रुपको प्रस्तुति रहनेछ ।
बैशाख २४ गते बिहार छौडादानोको टिकटक स्टारहरुले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने छन्। मेलाको अन्तिम दिन बैशाख २५ गते बीरगंजको भोजपुरी गायक सुनिल पन्डित र नेपालको चर्चित मोडेल रचना सिवाकोटीको प्रस्तुति रहने चौधरीले जानकारी दिए।
गढिमाई मेलालाई थप आकर्षक बनाउनको लागि विभिन्न किसिमका खेल तमासाहरुको व्यवस्था गरिएको छ। मेलामा मौतको कुवा,झुला,ड्रेगन हाउस,रोटे पिङको व्यवस्था गरिएको छ ।यस वर्षको गढिमाई मेलाको २० लाखकोे अनुमानित बजेट रहेको छ ।
बारागढी गाउँपालिका वडा न ५ को वडा कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ।पन्ध्र लाख घरधुरीबाट चन्दा संकलन गर्ने लक्ष्य रहेको छ। यस सिहासनी टोलमा परापुर्व कालदेखि नै गढिमाईको स्थानमा पूजा गर्दै आएको र गढिमाई माताको आशिर्वादले धेरै जनाको मनोकामना पूरा भएको स्थानीय हेमनारायण चौधरीले जानकारी दिए।
सबै भन्दा अनौठो कुरा यो छ कि जुन बर्ष गढिमाईको मेला यो गाउँमा लाग्छ त्यो बर्ष यस सिहासनी गाउँको बासिन्दा कसैले पनि आफ्नो छोरा छोरीको बिहे नगराउने परम्परा रहेको छ।
यदि कसैले गढिमाई मेला लागेको बर्ष आफ्नो छोराछोरीको बिहे गरायो भने अनिष्ट हुने जनविश्वास रहेको छ। मेलालाइ सभ्य र भब्य तरिकाले सफल बनाउनको लागि सम्पुर्ण गाउँवासी,ब्यापारी,जनप्रतिनिधि,नागरिक समाज,सुरक्षाकर्मी,पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाइ मेला समिति परिवारले आग्रह गरेको छ।

