कलैया : बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरमा नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना बिधार्थीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय राजेन्द्र रामको १३ बर्षिय छोरा छोटेलाल कुमार राम रहेका छन । नेपाल राष्ट्रिय मा.बि कवही गोठबाट बिहीबार बिहान ११ बजे पढेर घर फर्किने क्रममा बरियारपुरबाट कवही गोढ तर्फ तिब्र गतिमा आउदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो ।
उनी कक्षा ६ मा अध्ययनरत रहेका थिए। मोटरसाईकलको ठक्कर बाट गम्भिर घाईते भएका रामलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उनको उपचार हुन नस्केपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगञ्जमा लगिएको थियो । उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको स्थानीय बिनोद गिरीले जानकारी दिएका छन । मृतक रामका बुवा रोजगारीको शिलशिलामा भारतमा रहेका छन ।

