Sajhedari Daily
Latest News from Nepal

अति आवश्यक बस्तु तथा सेवा संचालनको बारामा समय तालिका तोकियो

Top Aside Banner

रञ्जन यादब /
जिल्ला प्रशासन कार्यालय बाराले कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न अति आवश्यक बस्तु तथा सेवा संचालनको समय तालिका तोकेको छ ।

जिल्लामा सञ्चालन हुने खाद्यन्न पसल देखि ढुवानीका सवारी साधनको समय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

खाद्यन्न पसलहरु खुल्ला गरी सञ्चालन गर्न दुई चरण तोकिएको छ । जुन उद्योग बाणिज्य संघ तथा किराना ब्यवसायी संघले तोके बमोजिम बिहान ५ बजे देखि ९ बजेसम्म एउटा र बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म अर्को गरी आलोपालो मिलाई खाद्यन्न ब्यवसाय सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सुचनामा माछा,कुखुरा तथा सोको दाना,पशु आहाराको ढुवानी र निर्माण सामग्री ढुवानीका लागि बेलुका ७ बजे देखि बिहान ५ बजे सम्मको समय तालिका तोकिएको छ ।

खाद्यन्न ,कृषि उपज तथा औषधी र रसायनिक मल ढुवानीका साधनहरु ब्यानर राखी संचालन गर्न सकिने छ । उद्योग तथा राष्ट्रिय गौरबका आयोजनाहरुमा पर्सा र रौतहट जिल्लाहरुबाट आउने कर्मचारीहरुलाई कामकाजमा लगाउन बन्देज गरिएको छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी कोरोना भाईरस सम्बन्धि स्वास्थ्य मापदण्ड पुर्ण पालना गरी उद्योगले कर्मचारी तथा कामदारहरुलाई आफनै आवासमा राख्नुपर्ने निर्देशन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले बैकहरु सञ्चालनको समय तालिका पनि सार्बजनिक गरेको छ । नेपाल सरकारको आर्थिक कारोबार हुने बैकहरु आईतबार ,बुधबार र शुक्रबार सञ्चालन गर्ने भनिएको छ ।

कलैया उपमहानगरपालिका कार्य क्षेत्र भएका बैक बाहेक सबै बैकहरु सोमबार ,बुधबार र शुक्रबार सञ्चालन हुनेछन् । कलैया उपमहानगरपालिका कार्य क्षेत्र रहेका १२ वटा बाणिज्य बैकहरु आलोपालो प्रत्येक २/२ वटा बैकहरु आईतबार देखि शुक्रबार सम्म चल्नेछन् ।

बिकास बैकहरु हप्तामा दुई दिन सोमबार र बिहिबार मात्र आफनो कारोबार गर्ने प्रशासन कार्यालयले जनाएको छ । हिजो बाराका प्रमुख जिल्ला अधिकारी पण्डितको अध्यक्षतामा बसेको सुरक्षा समितीको बैठकले निषेधाज्ञा २० गतेसम्मको लागि बढाएको थियो ।