जनतालाई राहत चाहिएको छ,ललिपप होईन : आजपा अध्यक्ष साह

साझेदारी दैनिक
286 पाठक संख्या

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ” सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि जनतालाई राहत चाहिएको छ,ललिपप होइन” बताएका छन् ।

बाराको कलैयास्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् । राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको उनले बताए ।

मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् अध्यक्ष साहले बताए । 

‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन् । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउँनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने । 

तराई मधेसमा पानीको हाहाकार छ । जलसंकट भएर किसानदेखी सर्वसधारणसम्मका व्यक्तिहरु पीडामा रहेको बताउदै सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको बताए । साहले पीडितलाई तत्काल राहत प्याकेज सहित पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराएका छन् । 

मधेसमा जलसंकट देखिएपछि हेलिकप्टरमा सैयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे । 

‘प्रधानमन्त्रीजी हेलिकप्टरमा सैयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नु भयो । म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासंग खेलवाड गर्न पाइन्छ ?,’ आजपा अध्यक्ष साहले प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि दुइ हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन् ।

‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईले मधेसमा पाँच सय डिपबोरिङ गाडछु भन्नुभएको थियो । तर आज दुइ हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो ? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ । मधेसी जनतासंग यस्तो भद्धा मजाक किन ? तपाई त विदेशबाट महंगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम किन गर्नुहुन्छ ?’ 

आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेका छन् । अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन् । चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासंग खेलवाड गरिरहेको उनले बताए । 

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरु अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको विशेष सहभागिता रहेको थियो ।

Leave a review