कलैया : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व शनिबार बारामा मनाईएको छ ।
जिल्लाको १६ पालिकामा रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व मनाईएको हो । सुख, सम्बृद्धी एवम् लामो आयुको कामना गर्दे दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षा बन्धन पर्व मनाएकी हुन्। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ । यता ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेरी जनै पूर्णिमा पर्व मनाएका हुन्।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।
श्रावण शुक्लपक्षको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा वा जनै पूर्णिमा भन्दछन्। यस दिन वैदिक सनातन वर्णाश्रम धर्म मान्ने द्विज अथवा ब्राह्मणादि तागाधारीहरूले श्रुति, स्मृति आदि धर्मशास्त्रोक्त विधिले वर्षभरि गरिएका अनाचार, दुष्कर्म, दुराचार, दुव्र्यवहार आदिको प्रायश्चित्त एवं दुष्परिणामको निराकरणका लागि श्रावणी कर्म अर्थात् गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म जस्ता विशेष कृत्यहरू सम्पादन गर्ने विधान रहेको छ।
यी सबै कृत्यहरू गरिसकेपछि शास्त्रीय विधिले तयार गरिएको ब्रह्मसूत्र (जनै) मा वैदिक कर्मद्वारा ब्रह्मा, विष्णु, रुद्र एवं तन्तुदेवताहरूलाई अभिमन्त्रणा गरेर पवित्र एवं शक्तिसम्पन्न तुल्याएपछि धारण गरिने हुँदा यस पूर्णिमालाई जनै पूर्णिमा भन्ने गरिएको हो। यही दिन रक्षासूत्रमा समेत देवताहरूलाई विधिवत् आह्वान गरी हातमा बाँधिने भएकाले आजको दिनलाई रक्षाबन्धन पनि भन्दछन्।


