कलैया । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले सयमित, गम्भीर र संवेदनशील भएर सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्यमा सक्रिय हुनु आवश्यक रहेको जनाएका छन्।
अध्यक्ष लम्सालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। वर्तमान अवस्थालाई उचित ढंगले व्यवस्थापन गर्दै अगाडी बढन उनले प्रेस विज्ञप्तिमा लेखेका छन्।
जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा लेखिएकोे छ।
प्रदर्शनका क्रममा राज्यको दमन र २३ जना भन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, सार्वजनिक सम्पत्ति तथा निजी सम्पत्तिको ठूलो मात्रामा तोडफोड तथा आगजनीले देशमा जटिल अवस्था निर्माण हुन पुगेको विज्ञप्तिमा लेखिएको छ।
यस्तो अवस्थामा सम्पूर्ण देशवासी सयमित, गम्भीर र संवेदनशील भएर सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्यमा सक्रिय हुनु आवश्यक छ लम्सालले प्रेस विज्ञप्तिमा जनाएका हुन्। सुरक्षा व्यवस्थाको जिम्मा आंफैले सम्हाल्ने नेपाली सेनाको घोषणापछि उत्पन्न नयाँ परिवेशलाई अब उचित ढंगले व्यवस्थापन गर्दै अगाडि बढ्नुको विकल्प छैन भन्दै संक्रमणकाललाई लम्बाइ राख्ने तथा कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले अझै क्षति व्यहोर्नुपर्ने हुन सक्ने अव्यवस्थातर्फ सबै गम्भीर बन्न जरुरी रहेको विज्ञप्तिमा उनले लेखेका छन्।
लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास दिन सुझाव दिइएको छ। लोकतन्त्रको अभ्यासलाई सुनिश्चित गराउने कुरामा जिम्मेवार बन्न सबै पक्षलाई विज्ञप्तिमा अपील गरिएको छ।
लोकतन्त्रको विकल्पमा अरु कुनै व्यवस्था हुन सक्दैन विज्ञप्तिमा स्पष्ट पारिएको छ। वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ। संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारका विश्वश्व्यापी मान्यताहरुको अभ्यास गर्न लम्सालले विज्ञप्तिमा आग्रह गरेका छन्।
अहिलेको जटिल अवस्थामा निरन्तर सत्यतथ्य सूचना प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार रहेको जनाउदै सही सूचना सम्प्रेषण गर्नु सञ्चारकर्मीको दायित्व रहेको विज्ञप्तिमा उनले भनेका हुन्। पत्रकार आचारसंहिता पालना गर्न, अफवाह फैलने र थप समस्या उत्पन्न हुनेतर्फ सचेत हुँदै जिम्मेदारीपूर्वक प्रस्तुत हुनका लागि सबै सञ्चारकर्मीलाई भनिएकोे छ।
समाचार संकलन तथा सम्प्रेपणमा कुनै अवरोध नगरी सहजता बनाउन नेपाली सेना र राज्यका सबै संरचनाहरुलाई विज्ञप्तिमा लम्सालले अपील गरेका छन्। विषम परिस्थितिमा पनि समाचार संकलन तथा संप्रेषणमा सक्रिय पत्रकार, सञ्चारकर्मी एवं सञ्चारमाध्यमहरुप्रति उनले आभार व्यक्त गरेका छन्। सुरक्षित रहेर मात्र सञ्चारकर्ममा लाग्नुहुन समेत लम्सालले अनुरोध गरेका छन्।


