रौतहट । कर्मचारीहरुको तलवभत्ता निकासा गर्न आफू तयार रहेको रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले जनाएका छन्।
बिना कारण वडा अध्यक्षहरूले वडा कार्यालयमा तालाबन्दी गरी जनतालाई दुःख दिने काम गरेको आफ्नै निवासमा बुधबार सञ्चारकर्मिहरुसंग कुरा गर्दै मेयर जयसवालले यस्तो बताएका हुन्। आफू नगरमा कार्यरत स्थाई, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको अहिलेसम्मको तलव खुवाउन तयार रहेको उनले बताएका हुन्।
केही वडा अध्यक्षहरुले मेयर अजय प्रकाश जयसवाल अस्थाइ र करार कर्मचारीको तलब नै खाइदिएको तथा भुक्तानी गर्ने पक्षमा नरहेको भन्दै झूठा प्रचारबाजी गरी जनतालाई भ्रमित गर्दै हिँडेको उनले प्रष्ट पारे। तलब निकासा गर्ने पक्षमा मेयर नरहेको भन्दैसात जना वडा अध्यक्षहरुले वडा कार्यालयमा ताल्चा लगाएका छन्।
जनताको कामकाज प्रभावित गरेको प्रति आफ्ना गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफूलाई बद्नाम गर्ने उद्देश्यले वडा अध्यक्षहरुले वडा कार्यालयमा तालाबन्दी गरी भ्रम छर्ने काम गरेको उनको आरोप छ।
पालिका भरी अहिलेसम्म ज्यालादारी वा करारमा काम गरेका कर्मचारीहरुलाई तलव भुक्तान गरिएको जनाए। दरबन्दी बाहेकका अस्थाइ, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई हटाउने योजनाका साथ आफू उनीहरूको तलब निकासा गर्न रेडबुकमा ५ करोड रकम छुट्याएको उनले जानकारी दिएका छन्।
आफूले प्रत्येक वडा कार्यालयलाई कर्मचारीहरूको हाजीरी रजिस्टर, भरपाई, नियुक्तिपत्र, करार सम्झौता लगाएतका विवरण नगरपालिका कार्यालयमा बुझाउन पत्राचार गरेको उनले बताए।
वडा अध्यक्षहरुले आ आफ्ना वडामा खटाएका कर्मचारीको विवरण दिनुको सट्टा उल्टै वडा कार्यालयमा तालाबन्दी गरी बस्दा उनीहरुलाई तलव खुवाउन ढिलाइ भइरहेको उनले बताए।
वडा कार्यालयमा गरिएको तालाबन्दी खोलेर कर्मचारीको विवरण पालिकालाई उपलब्ध गराउन उनले वडा अध्यक्षहरुलाई आग्रह गरेका छन्।
बाढीबाट क्षति भएका धानबाली लगाएतको विवरण संकलन गरी पालिकामा पठाउन आफूले प्रत्येक वडा कार्यालयलाई निर्देशन दिसकेको समेत उनले जनाएका हुन्। वडा कार्यालयहरुको पठाएको सूचि अनुसार आफूले किसानहरुलाई बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन पहलकदमी गर्ने उनले बताए।