बारामा दुई दिनमै ७९ हजार भन्दा बढीले लिए हैजाविरुद्धको खोप

संदिप प्रसाद यादव
357 पाठक संख्या
फाइल फोटोः बाराका सहायक प्रजिअ छविरमण भट्राई खोप लिदै

कलैया । बारामा दुई दिनमा ७९ हजार ७ सय ९३ जनालाई हैजाविरुद्धको खोप लगाईएको छ ।

जिल्लाको ६ वटा पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका,फेटा गाउँपालिका , बिश्रामपुर गाउँपालिका,प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा हैजाविरुद्धको खोप अभियान संचालन भईरहेको छ ।

जिल्ला जनस्वास्थय कार्यालय बाराका कार्यालय प्रमुख रामनरेश यादवका अनुसार बाराका ६ पालिकामा तीन लाख ६५ हजार ९३१ जना जनसंख्यालाई लक्षित रहेकामा आइतबार र सोमबारसम्म ७९ हजार ७ सय ९३ जनालाई हैजाविरुद्धको खोप लगाइएको हो ।

उनका अनुसार ६ वटा पालिकाहरुमा जीतपुरसिमरामा एक लाख २७ हजार ९५६ जनामध्ये ३९ हजार ५२५, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२ जनामध्ये २३ हजार १०, फेटा गाउँपालिकाका २८ हजार ६३ जनामध्ये ४ हजार ३४३, बिश्रामपुर गाउँपालिकाका २४ हजार ३५७ जनामध्ये ३ हजार ४२२, प्रसौनी गाउँपालिकाका २४ हजार ८२० जनामध्ये ४ हजार ३३० र परवानीपुर गाउँपालिकाका २४ हजार ३०३ जनामध्ये ५ हजार १६३ जनालाई हैजाविरुद्ध खोप लगाईएको हो ।

बारा जिल्लामा हालसम्म हैजाविरुद्धको खोप २२ प्रतिशत कभरेज भएको छ । सोमबार जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान संचालन गरेको हो ।

हैजाविरुद्ध खोप अभियानको पहिलो दिन बारामा १८ हजार ९ सय ६४ जनालाई लगाईएको थियो । जिल्लाको ६ पालिकाका ७५ वटा वडामा यो अभियान सञ्चालन रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ । खोप अभियानमा २१० जना खोप कार्यकर्ता, ३७९ जना महिला स्वास्थय स्वयम सेविका र ३७९ जना स्वयम सेवक परिचालन गरिएको छ ।

खोप अभियान असोज २७ गते सोमबारदेखि कार्तिक २ गते आईतबारसम्म सञ्चालन रहने छ ।अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइने छ ।

Leave a review

This will close in 0 seconds