कोल्हवी–अरेम्बा–खगदे र सपही–बन्ठाकट्टी सडक खण्ड कालोपत्र हुँदै

संदिप प्रसाद यादव
264 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवी नगरपालिका अन्तर्गत दुई महत्वपूर्ण सडक खण्ड कालोपत्र हुने भएका छन् । कोल्हवी नगरपालिका वडा नम्बर ९ अन्तर्गत अरेम्बा–खगदे पडरी सडक खण्ड र वडा नम्बर ४ अन्तर्गत सपही–बन्ठाकट्टी चौक सडक खण्ड कालोपत्र निर्माणका लागि सोमबार आयोजना बोर्ड राखी कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

उक्त दुवै सडक खण्डको कालोपत्र निर्माणको ठेक्का श्री विकास राजा पहल जे.भी., वीरगञ्ज–१४, पर्सा ले सकार गरेको छ। अरेम्बा–खगदे पडरी सडक खण्ड कालोपत्र निर्माणका लागि भ्याट तथा पी.एस.सहित १ करोड ८४ लाख ९७ हजार ३०४ रुपैयाँ २८ पैसा लागतमा ठेक्का सम्झौता भएको छ। यस आयोजनाको निर्माण अवधि २०८३ असार १० गतेसम्म तोकिएको छ।

त्यस्तै, कोल्हवी नगरपालिका वडा नम्बर ४ अन्तर्गत सपही–बन्ठाकट्टी चौक सडक खण्ड कालोपत्र निर्माणका लागि भ्याट तथा पी.एस.सहित १ करोड ६८ लाख १० हजार ३४० रुपैयाँ ०१ पैसा लागतमा ठेक्का सम्झौता गरिएको छ। यस सडकको निर्माण अवधि पनि २०८३ असार १० गतेसम्म निर्धारण गरिएको छ। सडक कालोपत्र भएपछि सो क्षेत्र धुलोरहित हुने भन्दै स्थानीयबासीहरूले गुणस्तरीय निर्माण कार्य गर्न सम्बन्धित ठेकेदारसँग जोडदार माग गरेका छन्।

यसैबीच, कोल्हवी नगरपालिका वडा नम्बर ६ स्थित श्री ने.रा.आ.वि. अधनावा मा चार कोठे विद्यालय भवनको शिलान्यास पनि सोमबार नगर प्रमुख रामप्रसाद चौधरीले गर्नुभएको छ। ६१ लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त भवन सम्पन्न भएपछि विद्यालयमा कक्षा कोठाको अभाव नहुने विद्यालयका प्रधानाध्यापक गुरु चौधरीले जानकारी दिनुभएको छ।

कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष दलबहादुर चौधरी, वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ४ का अध्यक्ष विष्णु प्रसाद मैनाली, नगरपालिकाका इन्जिनियर गणेश चौधरी, वडा नम्बर ९ का सदस्य भुपेन्द्र चौधरी, समाजसेवी महेन्द्र देवकोटा, वडा नम्बर ४ का पूर्व अध्यक्ष भेष बहादुर ढकाल लगायतको उपस्थिति रहेको थियो।

Leave a review