कलैया । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का कार्यवाहक सभापति हरिप्रवेश यादवले हारको जिम्मा केही व्यक्तिलाई दिनुभन्दा समग्र मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन्। क्षेत्रीय कार्यसमितिको तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ३ को सभापति प्रभात कुमार चौरसिया पार्टीलाई नोक्सान पुर्याउने गतिविधि र षडयन्त्रमा लागेकोले प्रतिनिधि सभा क्षेत्रका ६७% भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले निज विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको विज्ञप्तिमा लेखिएको छ। चौरसिया यस क्षेत्रको सभापति पदमा नरहेका कुरा सबैलाई सर्वविदितै रहेको जनाइएको छ।
प्रतिनिधि सभा क्षेत्रको सभापति नै नरहेको व्यक्ति म, जिल्ला कार्यसमितिका सभापति राजेशराय यादव, प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति रामप्रवेश यादव लगायत १६ जना नेतालाई मिति २०८२ फागुन १८ र २३ गते कार्यवाहीको लागि सिफारिस सार्वजनिक गरिएको पत्रले पार्टी संगठनलाई क्षति पुर्याएको विज्ञप्तिमा लेखिएको छ। यसले पार्टीलाई कमजोर बनाई राखेको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्यवाहीको सिफारिस गरिएको छ ।
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा चुनावको हारको सन्दर्भमा यस क्षेत्रका उम्मेदवार फरमुल्लाह मंसुर प्रत्यक्षको उम्मेदवार रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रत्यक्ष उम्मेदवारको भोट पार्टीको संगठनका साथै उम्मेदवारको व्यक्तिगत व्यवहार, आचरण र चरित्रसँग समेत जोडिएको हुन्छ। निजको हारको जिम्मा कोही व्यक्ती वा केही व्यक्तीलाई दिनु भन्दा सार्वजनिक रुपमा दिने कार्य बन्द गरिनु पर्दछ भनेर विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक रूपमा फरमुल्लाह मंसुरको व्यवहार, आचरण, जीवनशैली र चरित्रका बारेमा चर्चा गरी निजको ३०,६४५ मतान्तर (रुख १०,०५२ र घण्टी ४०,६९७) हारको कारण पत्ता लगाउनुपर्ने सूझाव समेत विज्ञप्तिमा दिइएको छ।

