Sajhedari Daily
Latest News from Nepal

प्रसौनी गाउँपालिकालाई महिलामुखी बनाउछौं-अध्यक्ष गुप्ता

प्रसौनी गाउँपालिकालाई महिलामुखी बनाईने अध्यक्ष भोला प्रसाद गुप्ताले बताउनु भएको छ । शनिबार स्थानिय बेंगा साह माध्यमिक विद्यालयमा आयोजीत साना किसान कृषि सहकारी संस्था लिमिटेड प्रसौनीको प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गुप्ताले महिलाको सशक्तिकरणमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

पछाडी परेका मधेशी महिला एवं छोरीहरुको सशक्तिकरणमा गाउँपालिकाले धेरैखाले योजना अघि सारेको छ । सूत्केरी हुँदा पौष्टीक आहार , छोरीको जन्महुँदा २ हजार नगद, शैक्षिक स्तर उन्नतीका लागि आर्थीक सहायता जस्ता कार्यक्रम ल्याएका छौं । महिलाहरुले अगुवाई गर्ने सामाजिक गतीविधि र सहकारी अभियानमा गाउँपालिका सहयात्री बन्ने छ, गुप्ताले भन्नु भयो ।

वहाँले स्थानिय महिलाहरुको अगुवाईमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था प्रसौनीको विकास र विस्तारका लागि आवश्यक भवन निर्माणका लागि घडेरीको ब्यवस्था सहित भवन बनाईदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

यस्तै कार्यक्रममा सहभागि गाउँपालिका उपाध्यक्ष गीता साहले महिलाहरुको आयआर्जन वृद्धिका लागि विभिन्न सिपमुलक कार्यक्रममा गाउँपालिकाले जोडदिने बताउनु भयो । महिलाले गर्ने ब्यवसाय र उपार्जनमा स्थानिय सरकार सहयोगि बन्ने वहाँको भनाई थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रमुख शेर बहादुर चौधरी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, प्रसौनी गाउँपालिका वडा नं.२का अध्यक्ष सुरेश प्रसाद गुप्ता, ४ का आनन्द कुमार गुप्ता , वडा नं. ५का सनही साह यसैगरी सामाजिक अगुवा निप्पु कुमार गुप्ता, राजेश्वर प्रसाद कलवार, सत्यनारायण साह, शर्मा महत्तो कोइरी, विरेन्द्र कुशवाह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

४ सय ४० महिला आवद्ध सहकारीले करिब १ करोड ३२ लाखको कारोबार गर्दै आएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अनुशरण कार्यक्रम अन्तरगत स्थापना भएको संस्थाले छोटो समयमा सहकारीले उल्लेखिय प्रगतीको आधार तयार गरेको कार्यक्रमका वक्ताहरुले धारण राखेका थिए ।

आयोजित सभाले अध्यक्ष आर्चायले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन एवं प्रबन्धक विकास कुमार यादवले प्रस्तुत गर्नुभएको आयब्यय सहितको बार्षिक प्रगती प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

संस्था अध्यक्ष संगिता आचार्यको अध्यक्षता, उपाध्यक्ष रुना देवी कलवारको स्वागत एवं संचार तथा सहकारीकर्मी अनिल गौरवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।