पर्सा । सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ ।
सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगञ्ज महानगरलगायतको संयुक्त टोलीले आज वीरगञ्जको घण्टाघर आसपासको सडकको रेखाङ्कन तथा नापजाँचको काम अघि बढाएको हो । सडक डिभिजन हेटौँडाले यही वैशाख ६ गते सो सडकखण्डमा अतिक्रमण गरेर बनाएका घर–टहरा स्काभेटर लगाएर भत्काउन थालेको थियो ।
त्रिभुवन राजपथअन्र्तगत सो सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५–२५ मिटर मापदण्ड तोकिएको छ । सोही मापदण्डअनुसार सडक डिभिजन हेटौँडाले वैशाख १५ गतेदेखि सो खण्डको सडकको केन्द्रविन्दु निर्धारण गर्न सुरु गरेको हो । सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्न लागेको जानकारी दिनुभयो ।
“गत वैशाख ६ गते अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काउन थालेका थियौँ”, उहाँले भन्नुभयो, “आजदेखि प्राविधिक खटाएर सडकको केन्द्रविन्दु छुट्टयाउने काम भइरहेको छ ।”
वीरगञ्ज महानगरले सडकको केन्द्रविन्दुबाट २५–२५ मिटरपछि पनि थप सडकको दायाँबायाँ पाँच–पाँच फिट छोड्न निर्देशन दिएको छ । इन्जिनियर साहले सडक विभागले गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि आवश्यक तयारी थालिसकेको बताउनुभयो ।
“हामीले अतिक्रमित संरचनाको साइट क्लिरेन्सलगायतको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सडक विभागबाट डिपिआर तयार पार्ने काम भइरहेको छ ।”

