परवानीपुरमा मापदण्डविपरीत नगर प्रहरीद्वारा कर संकलन

साझेदारी डेलि
78 पाठक संख्या

कलैया । मापदण्डविपरीत जडीबुटी, जीवजन्तु र कबाडी कर बाराको एक पालिकाले संकलन गरिरहेको पाइएको छ। बाराको परवानीपुर गाउँपालिकाले आफ्नो क्षेत्राधिकार बाहिरका सामग्रीबाट नगर प्रहरीमार्फत यस्तो कर संकलन गरिरहेको पाइएको हो।

कलैया उपमहानगरपालिकामा उत्पादन भएको इटा बोकेको ट्र्याक्टरबाट नगर प्रहरीले गाउँपालिका कार्यालय अगाडिबाट कर संकलन गरिरहेको हो। उसले प्रतिट्र्याक्टर ५० रुपैयाँका दरले रकम उठाएको चालकहरूले बताएका छन्।

इँटा बोकेर राजमार्ग हुँदै आवतजावत गर्दा परवानीपुर गाउँपालिकामा पहिले कर तिर्न पर्दैन। अहिले तिर्न परिरहेको ना.६०३१ नम्बरका ट्र्याक्टर चालक सुनील साहले बताएका छन्। नगर प्रहरीले मुख्य राजमार्गमा ट्र्याक्टरको साँचो खोसेर मापदण्डविपरीत जबर्जस्ती रकम असुली गरिरहेको समेत एक ट्रयाक्टर चालकले बताएका छन्।

यो गाउँपालिकाभन्दा फरक पालिकामा उत्पादन भएको इँटाबाट मुख्य राजमार्गमा कर संकलन गर्नु सरासर गलत भएको बताइन्छ। आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नगर प्रहरीले नेपाल प्रहरीभन्दा ठुलो स्वरमा प्रस्तुत हुँदै मुख्य राजमार्गमा सवारी रोकेर रकम संकलन गरिरहेको चालकहरु बताउँछन्।

नगर प्रहरीले काटेर दिएको रसिदमा कुन आर्थिक वर्षको रसिद हो, के बापत उक्त रकम असुल गरिएको हो भन्ने पनि उल्लेख नभएको उनीहरु बताउँछन्।

गाउँपालिकाले चालू आर्थिक वर्ष ०८३/०८४ का लागि असार १७ गते जडीबुटी, जीवजन्तु र कबाडी कर संकलन गर्न बोलपत्र आह्वान गरेकोमा जडीबुटी, जीवजन्तु र कबाडी कर संकलनको ठेक्का परवानीपुर गाउँपालिका– ५ स्थित आदित्य ट्रेडर्सले ९२ लाख ४० हजार रुपैयाँमा प्राप्त गरेको थियो।

बोलपत्रमा मुख्य राजमार्गसहित गाउँपालिकाको क्षेत्राधिकारभित्र रहेका कारखाना तथा उद्योगबाट न्यूनतम ३० लाख एक हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको हो।

असारको अन्तिम समयमा खोलिएको बोलपत्रमा ठेक्का प्राप्त कम्पनीले हालसम्म गाउँपालिकासँग सम्झौता नगरेको जनाइएको छ। नगर प्रहरीमार्फत परवानीपुर गाउँपालिकाले कर संकलन गरिरहेको अवस्था छ।

Leave a review

This will close in 0 seconds