बारामा ट्राफिक कारबाही घट्यो,एक वर्षमा सवा करोडभन्दा बढी राजस्व संकलन

साझेदारी डेलि
83 पाठक संख्या

कलैया । बारामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार वर्षभर १५ हजार ६ सय ९३ सवारीसाधन कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीको वार्षिक तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको संख्या तथा राजस्व दुवैमा कमी आएको देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ४ सय २४ सवारीसाधनलाई कारबाही गर्दा २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व उठेको थियो। यस आधारमा हेर्दा कारबाहीमा पर्ने सवारीसाधनको संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ।

यद्यपि, सवारी दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ। गत आर्थिक वर्षभर जिल्लाका विभिन्न सडकमा १ हजार २ सय ११ सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा ७९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष १ हजार १ सय ४७ दुर्घटनामा ९३ जनाको मृत्यु भएको थियो। तथ्यांकअनुसार दुर्घटनाको संख्या केही बढे पनि मृत्यु हुनेको संख्या भने घटेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले सडकको कमजोर अवस्था, अत्यधिक गति, चालकको लापरवाही तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो।

उहाँका अनुसार नियमित सवारी जाँच, नियम उल्लङ्घन गर्ने चालकमाथिको कडाइ तथा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक अभियानलाई निरन्तरता दिइएका कारण मानवीय क्षति कम गर्न सकारात्मक प्रभाव परेको छ।

प्रहरी निरीक्षक भट्टराईले दुर्घटना न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आफू पनि छड्के अनुगमन तथा ट्राफिक जाँचमा सक्रिय रूपमा सहभागी हुने गरेको जानकारी दिनुभयो।

उहाँले चालकलाई सुरक्षित गति अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न निरन्तर आग्रह गर्दै सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक अनुशासन र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

Leave a review

This will close in 0 seconds