बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार शिक्षक प्रियंका कुमारी सिंह २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेपनि तत्कालीन प्रधानाध्यापक यादवले हाजिरी र बिदाको अभिलेख मिलाई अनुपस्थित अवधिको तलबसमेत निकासा गराएका थिए।
अनुसन्धानका क्रममा सरकारी कागजातमा टिपेक्स लगाएर हाजिरी सच्याइएको तथा अनुपस्थित अवधिको समेत हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी तलब निकासा माग गरिएको पाइएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार यसरी विद्यालयमा अनुपस्थित शिक्षकको नाममा रु. ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा गैरकानुनी रूपमा निकासा तथा भुक्तानी भएको देखिएको छ।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा बिगो असुलउपरसहित कैद र जरिवाना मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।


